काठमाडौं । विराटनगर महानगरपालिकाले निष्क्रिय तथा नियमनमा नआएका ७ सहकारी संस्थालाई सम्पर्कमा आउन निर्देशन दिएको छ । पटक-पटकको सूचना र समयसीमा अटेर गर्दै बेवास्ता गरेको भन्दै महानगरले अन्तिम पटक १५ दिने अल्टिमेटम जारी गरेको हो ।
महानगरले ताजा तरकारी तथा फलफूल उत्पादन सहकारी संस्था, निलकमल बचत तथा ऋण सहकारी संस्था, युनिक बचत तथा ऋण सहकारी संस्था, शिवम् बचत तथा ऋण सहकारी संस्था, सामूहिक बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था र स्वागतम् बचत तथा ऋण सहकारी संस्थालाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको छ।
सहकारी ऐन, २०७५ (दोस्रो संशोधन, २०८० सहित) को दफा ५२ र ६७ अनुसार नियमनमा ल्याउने प्रयास गरिए पनि सम्बन्धित संस्थाहरूले तोकिएको समयसीमा र सूचनालाई बेवास्ता गरेको महानगरले जनाएको छ।
महानगरका अनुसार यसअघि अवसर दिइए पनि कुनै पनि सहकारीले आवश्यक तदारूकता नदेखाएपछि कडा कदम चाल्नुपर्ने अवस्था आएको हो । महानगरले जारी गरेको सूचनामा तोकिएको १५ दिनभित्र सम्बन्धित सहकारी संस्थाहरू सम्पर्कमा नआए कानुनअनुसार थप कडा कारबाही अघि बढाइने स्पष्ट गरिएको छ।
त्यसपछि सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, व्यवस्थापक तथा अन्य जिम्मेवार व्यक्तिहरूको पहिचान गरी तीनपुस्ते विवरण सार्वजनिक गरिने उल्लेख छ ।
त्यस्तै, सहकारी संस्थाका चल-अचल सम्पत्ति रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाइने तथा महानगर र वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवा-सुविधा पूर्ण रूपमा रोक्का गरिने चेतावनीसमेत दिइएको छ ।