काठमाडौं । नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई उच्च प्राथमिकता दिँदै सरकारले पहिलो पटक विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेसँगै देशमा डिजिटल रूपान्तरण र प्रविधिमैत्री विकासले नयाँ गति लिने विश्वास गरिएको छ ।
यस नीतिगत परिवर्तनलाई व्यवहारमा उतार्न शैक्षिक संस्थाहरूको भूमिका महत्वपूर्ण देखिएको परिवेशमा, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा स्थापित नेपाल प्रविधि नवप्रवर्तन केन्द्रले युवाहरूका नवीन सोचलाई व्यावहारिक रूप दिन महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।
विगतमा सरकार तथा सरोकारवालाहरूको पर्याप्त ध्यान नपुग्दा राष्ट्रिय स्तरमा पहिचान बनाउन विभिन्न कठिनाइहरू झेलेको यस केन्द्रले माननीय महावीर पुनको नेतृत्वदायी अभियानबाट थप ऊर्जा प्राप्त गर्दै विशेषगरी ग्रामीण क्षेत्रमा नवप्रवर्तनको पहुँच विस्तार गर्न उल्लेखनीय भूमिका खेलिरहेको छ ।
नेपाल सरकार र दक्षिण कोरिया सरकार कोइकाको संयुक्त सहयोगमा स्थापित यो अत्याधुनिक केन्द्रले सुरुवाती चरणदेखि नै कृषि, वैकल्पिक ऊर्जा र स्वास्थ्यजस्ता ग्रामीण जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा अनुसन्धान गर्दै आएको छ ।
केन्द्रका निर्देशक प्रा. डा. बिम प्रसाद श्रेष्ठको परिकल्पना र नेतृत्वमा सञ्चालित यस संस्थाले दीर्घकालीन सैद्धान्तिक अनुसन्धानभन्दा बाहिर निस्केर व्यवसायीकरण, स्टार्टअप प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणलाई प्राथमिकता दिएको छ ।
केन्द्रले स्टार्टअप र इन्क्युबेसन कार्यक्रममार्फत युवा तथा महिलाहरूलाई बीउ पूँजी, परामर्श र प्राविधिक सहयोग उपलब्ध गराउँदै उद्यमशीलताको विकासमा समेत टेवा पु¥याइरहेको छ ।
हाल एनटीआइसीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सहकार्यमा ठूला र दूरगामी परियोजनाहरू अघि बढाइरहेको छ ।
जसअन्तर्गत, इसिमोडसँगको सहकार्यमा जलवायु-स्मार्ट कृषिका लागि हरित मलसम्बन्धी अनुसन्धान, एसिया–प्रशान्त क्षेत्रीय नवप्रवर्तन उत्कृष्टता केन्द्रमार्फत वन डढेलो रोकथाम, र दक्षिण कोरियाको योन्सेई विश्वविद्यालयसँग ग्रह स्वास्थ्य सम्बन्धी अनुसन्धान भइरहेका छन् ।
त्यस्तै, अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटी र थाइल्याण्डको केएमआइसीएलसँग मिलेर इन-सिटु एनआईआर प्रविधिमार्फत २४ सै घण्टा फोहोर पानी निगरानी गर्ने प्रणालीको विकास र डाइअक्सिन प्रदूषण मापन गर्ने सेन्सर निर्माणको काम भइरहेको छ ।
विगतमा ग्रामीण क्षेत्रका लागि उपयोगी म्यानुअल राइस ट्रान्सप्लान्टर, वनस्पतिमा आधारित सौन्दर्य प्रसाधन, समुदायस्तरको शीतभण्डार, दूध प्रशोधनका लागि स्प्रे ड्राइङ प्रविधि, प्लास्टिक फोहोरबाट वैकल्पिक इन्धन र अण्डा इन्क्युबेटर जस्ता दर्जनौं प्रविधिको सफल विकास र व्यावसायीकरण गरिसकेको यस केन्द्रले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय ‘हार्वर्ड हेल्थ ह्याकाथन’ समेत सफलतापूर्वक आयोजना गरिसकेको छ ।
हालसम्म मुख्यतः विदेशी दातृ सहयोगमा निर्भर रहँदै संघर्ष गरिरहेको यस केन्द्रले अब सरकारले विज्ञान र प्रविधिलाई दिएको उच्च महत्वका कारण राष्ट्रिय स्तरमा उचित स्थान पाउने र नेपाली युवाहरूले अझ बढी अवसर पाउनेमा निर्देशक प्रा. डा. बिम प्रसाद श्रेष्ठ विश्वस्त छन् ।
नयाँ मन्त्रालयको आगमनसँगै यस्ता नवप्रवर्तन केन्द्रहरूको भूमिका अझ सुदृढ बन्ने र धुलिखेलको यो अभ्यासले राष्ट्रिय विकासलाई नयाँ मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।