काठमाडौं । सोफिया तामाङले टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि जितेकी छन् । काठमाडौंस्थित नेपाल पुलिस क्लब हल, भृकुटीमण्डपमा आयोजित ग्राण्ड फिनाले कार्यक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भएकी हुन् ।
प्रतियोगिताको अन्तिम चरणमा पुगेका ६ जना प्रतिस्पर्धीबीच विभिन्न सूचना प्रविधि (आईटी) सम्बन्धी चुनौतीपूर्ण कार्यहरूमा आधारित प्रतिस्पर्धा भएको थियो । ती प्रतिस्पर्धामध्ये उत्कृष्ट प्रदर्शनका आधारमा सोफिया तामाङ विजेता घोषित भएकी हुन्।
प्रतियोगितामा प्रार्थना मिश्रा प्रथम उपविजेता तथा बिबेक अधिकारी द्वितीय उपविजेता घोषित भए । विजेता सोफिया तामाङले नगद १ लाख रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन् ।
त्यस्तै, प्रथम उपविजेता प्रार्थना मिश्राले नगद ५० हजार रुपैयाँसहित अष्ट्रेलियन मापदण्डअनुसारको रोजगारी सुनिश्चित गर्ने अवसर प्राप्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि रायन ओ कोनेलले नेपाली युवाहरूमा बढ्दो सूचना प्रविधि प्रतिभा र अन्तर्राष्ट्रियस्तरको सीप विकासको आवश्यकताबारे धारणा राखेका थिए । उनले विश्वव्यापी प्रतिस्पर्धामा सफल हुन प्राविधिक दक्षता र व्यावसायिक सीपको महत्त्व बढ्दै गएको उल्लेख गरे ।
विशेष अतिथि रञ्जन राजाले साइबर सुरक्षा तथा डिजिटल सचेतनाको महत्त्वबारे प्रकाश पार्दै डिजिटल युगमा सुरक्षित प्रविधि प्रयोगको आवश्यकता औंल्याए ।
ग्राण्ड फिनालेमा विजेता तथा उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो । कार्यक्रमले नेपाली युवाहरूलाई विश्वस्तरीय सूचना प्रविधि सीप विकास, करियर निर्माण तथा अन्तर्राष्ट्रिय रोजगारीको तयारीतर्फ प्रेरित गर्ने प्रभावकारी मञ्चका रूपमा आफ्नो छाप छोड्न सफल भएको आयोजकले जनाएको छ ।