काठमाडौं । तपाईंले काठमाडौंका सडकमा गुडेका कारहरू देख्नु भएकै होला । नयाँ ब्लुबुकसहितका लोभलाग्दो कारहरू गुडिरहेका हुन्छन् ।
नयाँ गाडी देखेर तपाईं खरिद गर्न लालायित हुनु त भएको छैन ? यदि त्यसो हो भने होसियार हुनु पर्ने बेला भएको छ । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न सहरमा भन्सार छलीका गाडीहरू पाउन थालेका छन् ।
केही समयदेखि काठमाडौं उपत्यकामा भन्सारमा छलेर कारहरू भित्र्याउने पेशेवर समूहका गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । ६९ वर्षीय विश्वचन्द्र वादे श्रेष्ठ र ५३ वर्षीय नविन जिसी गत शुक्रबार ललितपुरबाट पक्राउ परे । भारतबाट भन्सार छलेर ल्याएका सवारी साधनसहित उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निशान कम्पनीको एक्स ट्रायल, सेफिरो गाडी १ र हुन्डाइको १ थान कारसहित नियन्त्रणमा लिएको हो ।
चार पाँग्रे सवारी साधन बिक्री वितरण गर्न राखिएको भन्ने विशेष सूचनाको आधारमा कार्यालयबाट खटिएका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले भारतबाट चोरी भएका गाडी ल्याएर काठमाडौं लगायतका विभिन्न स्थानमा बिक्री गर्ने गरेका थिए । जसका नाइके वा प्रमुख विश्वचन्द्र वादे श्रेष्ठ थिए । श्रेष्ठले भारतबाट भारतीय प्लेटसहितको कार नेपाल भित्र्याउने गर्थे ।
उनी आफ भारतीय गाडी चलाएर भन्सारबाट नेपाल आउने गरेका थिए । भारतका विभिन्न व्यक्तिसँग तथा गिरोहसँग सम्पर्क गरी चोरी भएका सवारीसाधन नेपालका विभिन्न नाका प्रयोग गर्ने गरेका थिए ।
उनले नेपालका भन्सार नाकामा यात्रा गर्न अनुमतिको राजश्व तिरेर भारतीय प्लेटका गाडी भित्र्याउँथे । वैधानिक बाटो खोज्ने गरेका थिए । जसमा श्रेष्ठले यात्रा अनुमतिको राजस्वको सहारा लिने गरेका थिए ।
उनले नाकासम्म भारतीय चालकलाई प्रयोग गर्ने गरेका थिए । भन्सार नाकामा यात्रा अनुमति राजस्व तिरेर उनीहरूले कार भित्र्याउने गरेका थिए ।
केही समयसम्म उनीहरूले काठमाडौं, ललितपुर, चितवन र हेटौंडा जस्ता ठाउँमा कुँदाउँथे । किनभने उनीहरूको साथमा राजस्व तिरेको पत्र साथमा थियो ।
कुदाइ रहुन्जेल काठमाडौं लगायत विभिन्न स्थानमा ग्राहकको खोजी गर्ने गर्थे । गाडी किन्ने ग्राहक भेटेपछि उनीहरूले बिक्रीका लागि राख्ने गरेका थिए । चितवन, हेटौंडा, नेपालगञ्ज, बुटवल र वीरगञ्जका ग्राहकलाई गाडी बिक्री गर्ने गरेका थिए । हेटौंडाबाट भने फेक नम्बर हालेर मोटरसाइकल मात्र काठमाडौं भित्र्याउने गरेका थिए ।
विश्वचन्द्रले राजश्व तिरेको निश्चित समयसम्म भारतीय प्लेटमा निर्वाध रुपमा गाडी कुदाउने गरेका थिए । यातायात कार्यालयमा पुगेर दुर्घटना र जेनजी आन्दोलनमा जलेका गाडीका चेसीस नम्बर लिने गरेका कार्यालयका प्रमुख सन्तोष खड्काले बताए ।
उनका अनुसार यातायात कार्यालयमा बिचौलिया प्रयोग गरेर सडकमा नकुदेका गाडी खोजी गर्ने गर्थे । भन्सार छली ल्याएका कम्पनीका गाडी भेटेमा चेसीस नम्बर र नम्बर प्लेट हाल्ने गर्थे ।
विश्वचन्द्रले भारतबाट चोरी भएका गाडी नेपाल ल्याउने पेशा नै बनाएका थिए । मुलुकका विभिन्न ठाउँमा पुगेर मोडिफाई गर्ने भनेर १० देखि २० लाखसम्ममा गाडी बिक्री गर्ने गर्थे ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले यातायात कार्यालयमा जाने पुराना तथा दुर्घटना वा जलेका गाडी नम्बर पत्ता लगाउने गरेका थिए । जलेका गाडी र दुर्घटना भएका गाडीको चेसीस नम्बर कपी र नम्बर प्लेट हाल्ने गरेका थिए ।
उनका अनुसार विश्वचन्द्रको मोबाइलमा ह्वाटसएपमा कारको मात्र फोटो रहेको थियो । उनले भारतबाट कार बिक्री गर्नका लागि ल्याउने गरेको देखिने ती प्रहरी अधिकृतले बताए । अहिलेसम्मको अनुसन्धानबाट उनले कार बिक्री गर्ने गरेको उनले बताए ।
गाडी मात्र नक्कली नभई ब्लुबुकसमेत फेक बनाउने गरेको खुलेको उनले जानकारी दिए । गाडकी मोडल अनुसार चेसिस खोजी गर्ने गरेको उनको भनाइ छ ।
उनीहरूले धेरै ग्राहकलाई पुरानो गाडीमा नयाँ सामान हाल्दिने भनेर सम्पर्क गर्ने गर्थे । पुराना गाडीमा भारतबाट ल्याएका गाडीबाट इन्जिन झिकेर पुराना गाडीलाई नयाँ जस्तै बनाइदिने गरेको ती प्रहरी अधिकृतले जानकारी दिए।
उनीहरूले बिक्रीका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने गरेका थिए । फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जालमा गाडीको विज्ञापन गर्ने गरेका थिए ।
उनीहरूले फेसबुकको मार्केट प्लेसमा चोरी र भन्सार छलेका गाडीहरू बिक्रीमा राख्थे । गाडी देखाएर एडभान्स रकम सुरुमा लिने गर्थे र पैसा लिएपछि ग्राहकसँग सम्पर्कविहीन हुने गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा भन्सार छली गरेका सात वटा सवारीसाधन नियन्त्रणमा परेका थिए । मोटरसाइकल २ वटा र विभिन्न कम्पनीका पाँचवटा कारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका कार तथा मोटरसाइकलहरू अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय गौचरण पठाउने गरेको कार्यालयले जनाएको छ ।