यूपीआई–एनपीआई इन्टिग्रेसन : अब नेपाल र भारतबीच तुरुन्तै पैसा पठाउन सकिने

काठमाडौं । एनपीसीआई इन्टरनेशनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच सहकार्यमा नेपाल र भारतबीच रियल टाइम क्रसबोर्डर रेमिट्यान्स सेवा सुरु गरिएको छ ।

भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गर्दै सुरु गरिएको यस सेवामार्फत अब दुई देशबीचको डिजिटल भुक्तानी छिटो, सुरक्षित र कम लागतमा गर्न सकिने भएको छ ।

यस नयाँ प्रणालीअनुसार भारतमा रहेका भारतीय तथा नेपाली प्रयोगकर्ता र नेपालमा रहेका भारतीय प्रयोगकर्ताले व्यक्ति–व्यक्तिबीच (पीटुपी) सजिलै फण्ड ट्रान्सफर गर्न सक्नेछन् । हाल केही बैंकहरूमा उपलब्ध सेवा क्रमशः अन्य बैंक तथा वित्तीय संस्थामा विस्तार गरिने जनाइएको छ ।

यूपीआई–एनपीआई इन्टिग्रेसनलाई वित्तीय समावेशीकरण तथा दुई देशबीचको डिजिटल र आर्थिक सम्बन्ध सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ । क्रसबोर्डर भुक्तानीलाई सहज र पहुँचयोग्य बनाउने लक्ष्यअनुसार यो प्रणालीले दुवै देशका फास्ट पेमेन्ट सिस्टमबीच अन्तरआबद्धता स्थापित गरेको छ ।

प्रयोगकर्ताले मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गरेर रकम पठाउन सक्नेछन् । यसले संवेदनशील बैंक खातासम्बन्धी विवरण आदान–प्रदान गर्नुपर्ने आवश्यकता हटाउँदै सरल र सुरक्षित अनुभव प्रदान गर्ने विश्वास गरिएको छ ।

रितेश शुक्लाले एनसीएचएलसँगको सहकार्यमा यस्तो सेवा सुरु गर्न पाउँदा खुशी व्यक्त गर्दै नवीन प्रविधिको प्रयोगमार्फत विश्वस्तरका आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्याए । उनले रियल टाइम, सस्तो र सुरक्षित माध्यमले रेमिट्यान्सलाई थप सहज बनाउने बताए ।

त्यसैगरी निलेश मान सिंह प्रधानले यस सहकार्यले लाखौं व्यक्ति तथा व्यवसायलाई डिजिटल भुक्तानी प्रणालीमा समेट्दै पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरे ।

यस सेवामार्फत कारोबारहरू रियल टाइममै सम्पन्न हुने भएकाले रेमिट्यान्समा निर्भर लाखौं परिवारलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । परम्परागत प्रणालीको तुलनामा लागत घटाउने र पारदर्शिता बढाउने लक्ष्य पनि राखिएको छ ।

एनपीसीआई इन्टरनेशनल र एनसीएचएलबीचको सहकार्यले नेपाल–भारत आर्थिक करिडोरलाई थप मजबुत बनाउनुका साथै डिजिटल भुक्तानी क्षेत्रमा नयाँ अध्याय सुरु भएको छ । यो मोडल अन्य देशहरूले समेत अनुसरण गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

Share News