निजामती अस्पतालले अब भरतपुर अस्पतालबाट पनि सेवा दिने

काठमाडौं । निजामती अस्पताल काठमाडौंबाट प्रदान गरिँदै आएको सहुलियत उपचार सेवा भरतपुर अस्पतालले दिने भएको छ । 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगालेले निजामती अस्पतालले सहुलियत परिचयपत्र दिएका कर्मचारी र निवृत्त कर्मचारीले उक्त सहुलियत  सुविधा पाउने जानकारी दिए ।

उनीहरुले श्रीमान्, श्रीमती, बुबा, आमा र छोराछोरीको फोटो टाँसेर बनाएको परिचयपत्र देखाएर सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ ।

राजपत्र अनङ्कित कर्मचारी र निवृत्त कर्मचारीले ५० प्रतिशत र राजपत्राङ्कित कर्मचारीले तोकेका सेवामा ४० प्रतिशत छुट पाउने व्यवस्था भए पनि फार्मेशी, टिकट लगायतमा भने छुटको व्यवस्था छैन ।

सहुलियत पूर्ण स्वास्थ्य उपचारका लागि काठमाडौंकै निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पताल धाउनुपर्ने बाध्यता कर्मचारी र उनीहरुका परिवारका लािग भने अन्त्य भएको छ । 

चितवन र छिमेकी जिल्लाका कर्मचारी यसबाट प्रत्यक्ष लाभान्वित हुने भएका छन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालमा लागू हुने गरी विभिन्न प्रदेश अस्पतालबाट कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।

सरकारले बागमती प्रदेशका लागि भरतपुर अस्पताल र मधेस प्रदेशका लागि वीरगञ्जस्थित नारायणी अस्पतालसँग सम्झौता गरेको हो । बगालेले प्राविधिक काम भइरहेकाले भोलिबाट सेवा दिन सकिने बताए । 

Share News