‘सेबोन सञ्चालकको बन्दीमा पर्यो, नेतृत्वविहीन हुनु दुर्भाग्यपूर्ण’

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारी युनियनले बोर्डको वर्तमान व्यवस्थापन अनिर्णयको बन्दी बनेको आरोप लगाउँदै संस्थालाई नेतृत्वविहीन अवस्थामा राखिनु दुर्भाग्यपूर्ण भएको जनाएको छ । सेबोनको ३३औं वार्षिकोत्सव तथा ३४औं वर्ष प्रवेशको अवसरमा जारी विज्ञप्तिमा युनियनले बोर्डको इतिहासमै पहिलो पटक वार्षिकोत्सव कार्यक्रम स्थगित हुनु व्यवस्थापनको उदासीनता, अनुत्तरदायित्व र अपरिपक्व निर्णयको परिणाम भएको टिप्पणी गरेको छ ।

युनियनका अनुसार स्थापनाकालदेखि नै विभिन्न चुनौती र प्रतिकूल परिस्थितिका बीच पनि बोर्डले आफ्नो वार्षिकोत्सव निरन्तर रूपमा मनाउँदै आएको थियो । तर, यस वर्ष कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी कार्यक्रम नगर्ने निर्णय गरिएको भन्दै युनियनले त्यसको भत्र्सना गरेको छ । 

विज्ञप्तिमा वर्तमान उच्च व्यवस्थापन तथा सञ्चालक समितिलाई अनिर्णयको बन्दी बनेको आरोप लगाइएको छ । युनियनले यही प्रवृत्तिका कारण बोर्ड प्रशासनिक र व्यावसायिक दुवै दृष्टिले कमजोर बन्दै गएको दाबी गरेको छ ।

युनियनले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रम नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता तथा लगानीकर्ताबीच समीक्षा, छलफल र भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरेको छ । यस्तो अवसरलाई रोक्नुले संस्थाभित्रको कर्पोरेट संस्कृति र सुशासनको अवस्थामाथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।

युनियनले व्यवस्थापनलाई आफ्नो पदीय जिम्मेवारी र जवाफदेहिता पूरा गर्न आग्रह गर्दै रोकिएका नीतिगत तथा प्रक्रियागत निर्णयहरू तत्काल सार्वजनिक गरी कार्यान्वयनमा लैजान माग गरेको छ । संस्थाको साख जोगाउन र समग्र पुँजी बजारको हितका लागि प्रभावकारी नेतृत्व आवश्यक रहेको युनियनको भनाइ छ ।

विज्ञप्तिमा बोर्डको अध्यक्ष पद करिब दुई महिनादेखि रिक्त रहेको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरिएको छ । अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयसम्म टुंगोमा नपुग्दा पुँजी बजारको नियामकीय गतिविधि प्रभावित भएको उल्लेख गर्दै युनियनले नेपाल सरकारसँग नियुक्ति प्रक्रिया शीघ्र सम्पन्न गरी बजारलाई आवश्यक नेतृत्व प्रदान गर्न माग गरेको छ ।

युनियनले सेबोनको संस्थागत सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा पुँजी बजारको दिगो विकासका लागि तत्काल प्रभावकारी नेतृत्व र निर्णय क्षमतायुक्त व्यवस्थापन आवश्यक रहेको समेत जनाएको छ ।
 

Share News