म फेरि गृहमन्त्री बनें भने खादामाला लिएर मन्त्रालयमा नआउनु होला : सुधन गुरुङ

काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङले फेरि गृहमन्त्री बन्न सक्ने संकेत गरेका छन् । आइबार राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा जिल्ला अधिवेशनमा बोल्दै उनले गृहमन्त्रालयमा फेरि फर्किने संकेतको अभिव्यक्ति दिएका हुन् । 

उनले सम्पत्ति छानबिन समितिलाई निष्पक्ष रुपमा काम गर्न दिएको बताउँदै आफू दोषी नरहेकोले फेरि मन्त्रालयमा फर्किन सक्ने संकेत गरेका हुन् । 

‘सम्पत्तिको छानबिन भएको छ । समितिले कडा-कडा प्रश्न सोधेको छ, त्यति कडा प्रश्न गर्दा मैले पनि तपाईंको पनि सम्पत्ति छानबिन गर्नु पर्छ कि क्या हो भनें, ‘उनले भने, ।मैले विगतमा कुनै सार्वजनिक पद धारण गरेको थिएनँ । तर, सम्पत्ति छानबिन भयो ।’

‘प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पुगेको छ। म पूर्ण रूपमा सफाइ पाउनेमा विश्वस्त छु,’ उनले भने । 

आफू निर्दोष सावित भएमा सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन सक्ने संकेत गर्दै गुरुङले फरक प्रकारको आग्रह समेत गरे । ‘यदि मलाई फेरि गृहमन्त्री बनाइयो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,’ उनले भने, ‘त्यो समय कामलाई प्राथमिकता दिन चाहन्छु ।’

उनले आफू जो चुनावमा हात जोडेर आएको सुधन हो, म अहिले पनि त्यही भएको बताए । उनले आफूलाई पदप्रति कुनै लोभ नभएको पनि बताए । 

बिचौलियासँग साँठगाँठ गरेर सम्पत्ति आर्जेको आरोप लागेपछि गृहमन्त्रीबाट राजीनामा दिएका गुरुङमाथि छानबिन गर्न समिति बनेको थियो । गुरुङको सम्पत्ति छानबिन गर्न बनेको सो समितिले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समक्ष प्रतिवेदन बुझाएको छ । सोही समितिले यस प्रकरणमा गुरुङको कुनै संलग्नता र दोष नरहेको निष्कर्ष निकालेको बुझिएको छ ।

संयोजक अच्युतमप्रसाद भण्डारी तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको  छानबिन समितिले प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको हो । 

समितिले गुरुङको सम्पत्ति छानबिन र उनीसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो । स्रोतका अनुसार समितिले ४५ पृष्ठ लामो प्रतिवेदन तयार गरेको छ । गत बैशाख २८ गते समिति गठन गरेको थियो । 

गृहमन्त्री रहेकै समयमा गुरुङले विवादित व्यवसायी दीपक भट्टको लगानी रहेको कम्पनीमा सेयर रहेको सार्वजनिक भएपछि उनले गत बैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । आज उनले राजीनामा दिएको ४६ दिन भएको छ । 
 

Share News