क्यान्सरसहित अत्यावश्यक औषधी आपूर्तिको अवस्था बुझाउन विभागलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अत्यावश्यक औषधीको आपूर्ति र व्यवस्थापनमा देखिएको असहजताबारे औषधि व्यवस्था विभागसँग छलफल गर्दै आवश्यक विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । 

बुधबार मन्त्रालय र औषधी व्यवस्था विभागका प्रतिनिधिबीच भएको छलफलमा औषधी आपूर्ति तथा व्यवस्थापनसम्बन्धी गुनासा, विद्यमान अवस्था र समाधानका उपायबारे समीक्षा गरिएको हो ।

छलफलमा विशेषगरी क्यान्सरविरुद्धका औषधिलगायत विभिन्न औषधीको आपूर्ति र व्यवस्थापनका विषयमा विभिन्न माध्यमबाट प्राप्त गुनासा तथा त्यसको वास्तविक अवस्थाबारे चर्चा भएको मन्त्रालयले जनाएको छ । 

साथै औषधी आपूर्तिको अनुमति प्राप्त गरेका कम्पनी वा आपूर्तिकर्ताले समयमै आपूर्ति नगरेमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत विभिन्न विकल्पमाथि छलफल गरिएको थियो ।

मन्त्रालयले विभागलाई जीवनरक्षक तथा अत्यावश्यक औषधी आयात गर्न अनुमति प्राप्त आयातकर्ताहरूको सूची, ती औषधीका पछिल्ला तीन वर्षको आयात परिमाण, वार्षिक खपतको विवरण तथा यस्ता औषधि आपूर्तिका लागि अनुमति माग्दै पेस भएका निवेदनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

छलफलमा औषधी व्यवस्था विभागसँग सम्बन्धित सफ्टवेयर प्रणालीको सुधार, क्षमता विस्तार तथा विभागको वेबसाइटमा रहेका विवरण नियमित रूपमा अद्यावधिक गर्ने विषयमा पनि जोड दिइएको थियो ।

मन्त्रालयले औषधी आपूर्ति प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सुधारका कदम अघि बढाइने जनाएको छ ।

Share News