काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद् तथा स्वास्थ्यसम्बन्धी संस्थाहरूमा रिक्त पदाधिकारी पदहरूका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी परिषद्, नेपाल मेडिकल काउन्सिल, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूमा नियुक्तिका लागि आवेदन माग गरिएको हो ।
उक्त पदहरूमा अध्यक्ष, उपाध्यक्ष, सदस्य, रजिस्ट्रार, सदस्य सचिव तथा कार्यकारी निर्देशकजस्ता पद समावेश छन् ।
मन्त्रालयका अनुसार सम्बन्धित ऐन तथा नियमावलीमा तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आवेदन पेश गर्नुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्टसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।