इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियानमा युवाको उत्साहजनक सहभागिता

काठमाडौं ।  इनड्राइभले काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरेको ‘रेट मिलाऔं, मःम खाऔं’ अभियान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) संस्कृतिबाट प्रेरित उक्त अभियानमा करिब २ हजार ४ सय जना प्रत्यक्ष रूपमा सहभागी भएको कम्पनीले जनाएको छ । अभियानमार्फत इनड्राइभले यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने सेवाबारे विशेष गरी शहरी युवा तथा विद्यार्थी समुदायलाई जानकारी गराउने उद्देश्य राखेको थियो ।

‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’ भन्ने नारासहित सञ्चालन गरिएको अभियानले यात्रु र चालकबीच भाडा निर्धारणमा हुने आपसी सहमतिलाई केन्द्रमा राखेको थियो । इनड्राइभको प्लेटफर्ममा यात्रुले प्रस्ताव गरेको भाडालाई चालकले स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने सुविधा रहेको छ ।

कम्पनीले काठमाडौंको परम्परागत मोलमोलाइ संस्कृतिलाई अभियानसँग जोड्दै बागबजार, जनबहाल, पिम्बहाल र ठमेलमा ब्रान्डेड मःम स्टल सञ्चालन गरेको थियो । सहभागीहरूले ह्वील स्पिन, मोलमोलाइ चुनौतीलगायतका विभिन्न अन्तरक्रियात्मक गतिविधिमा सहभागिता जनाएका थिए । चुनौती पूरा गर्नेहरूले निःशुल्क मःम तथा कम्पनीका ब्रान्डेड उपहार सामग्री प्राप्त गरेका थिए ।

इनड्राइभका अनुसार अभियानले सामाजिक सञ्जालमा पनि उल्लेखनीय सहभागिता र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । विशेषगरी युवा यात्रु तथा विद्यार्थी समुदायबीच अभियान प्रभावकारी बनेको कम्पनीको दाबी छ ।

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले काठमाडौंमा मोलमोलाइको संस्कृति गहिरोसँग स्थापित रहेको बताउँदै त्यसैलाई रमाइलो र सहभागितामूलक ढंगले प्रस्तुत गरेर कम्पनीको निष्पक्ष मूल्य निर्धारण अवधारणाबारे जनचेतना फैलाउने प्रयास गरिएको बताइन् ।

उनका अनुसार अभियान सञ्चालन गरिएका चारै स्थानबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । यसले यात्रु र चालक दुवैले थप विकल्प, पारदर्शिता र लचकतायुक्त सेवाप्रति सकारात्मक दृष्टिकोण राखेको देखाएको उनले बताइन् ।

कम्पनीले यस्ता अभियानमार्फत निष्पक्षता, पारदर्शिता र प्रयोगकर्ताको रोजाइको स्वतन्त्रतालाई केन्द्रमा राख्ने आफ्नो सेवामोडेललाई थप प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने जनाएको छ ।

Share News