काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले कान्ति बाल अस्पताललाई एक साताभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणका रिपोर्टहरू किर्ते गरिएको उजुरी परेपछि परिषद्ले औपचारिक रूपमा स्पष्टीकरण सोधेको हो ।
परिषद्का अनुसार चैत्र १ गतेदेखि एक महिनाको अवधिमा करिब एक हजार प्रयोगशाला रिपोर्ट प्रक्रियागत रूपमा शंकास्पद देखिएको उजुरी परेको छ । उजुरीमा अस्पतालले आफ्नै प्रयोगशालाबाट परीक्षण नगराई निजी प्रयोगशालाबाट तयार गरिएका रिपोर्टलाई अस्पतालकै आधिकारिक रिपोर्टका रूपमा वितरण गरेको आरोप लगाइएको छ ।
अस्पतालले सेरो डाइग्नोष्टिक कम्पनीले जडान गरेको भिट्रोस ५६०० मेसिनमार्फत सेवा सञ्चालन गरेपछि परीक्षण प्रक्रिया र रिपोर्ट प्रमाणीकरणबारे प्रश्न उठ्न थालेको थियो ।
आरोपअनुसार अस्पतालले बिरामीबाट नमुना संकलन गरी निजी प्रयोगशालामा पठाउने, त्यसपछि आएको रिपोर्टलाई कान्तिकै रिपोर्ट झैं प्रस्तुत गरेर अस्पतालका प्राविधिकमार्फत हस्ताक्षर गराई बिरामीलाई दिने गरिएको थियो ।
यो काम नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनविपरीत भएको दाबी गर्दै परिषद्मा औपचारिक उजुरी परेको हो । त्यसपछि परिषद्ले गत बिहीबार अस्पताललाई पत्र पठाउँदै किन कारबाही नगर्ने ? भन्ने प्रश्नसहित सात दिनभित्र उपस्थित भएर स्पष्ट कारण पेश गर्न निर्देशन दिएको हो ।
परिषद्का प्रवक्ता शितल बस्नेतले उजुरीका आधारमा स्पष्टीकरण मागिएको पुष्टि गरे । उनका अनुसार प्राप्त विवरणमाथि प्रारम्भिक अध्ययनपछि परिषद् आवश्यक कारबाही प्रक्रियातर्फ अघि बढेको हो ।
बाल स्वास्थ्य सेवाका लागि देशकै प्रमुख सरकारी अस्पताल मानिने कान्तिमा यस्तो आरोप सार्वजनिक भएपछि बिरामीका अभिभावक र स्वास्थ्य क्षेत्रमै गम्भीर चासो बढेको छ ।
परीक्षण रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठेपछि अस्पताल प्रशासनमाथि पारदर्शी छानबिनको दबाबसमेत बढेको छ ।
कान्तिमा करोडौंका उपकरण थन्किए
कान्तिबालको बदमासीमा मुछिए पूर्वमन्त्री बस्नेत, अख्तियारमा उजुरी
कानुनी अपराधमा कान्ति बाल, निजी ल्याबको रिपोर्ट आफ्नो भन्दै हस्ताक्षर
बदमासी ढाकछोप गर्न कर्मचारीको सातो खाँदै प्रशासन
कान्ति बाल अस्पतालमा बदमासी : अत्याधुनिक मेसिन थन्क्याएर निजी ल्याबमा परीक्षण
काजमै राज गरिरहेका भीआईपी चिकित्सक