विदेश पठाइदिने बहानामा ठगी गर्ने ६९ कन्सल्टेन्सी सञ्चालक प्रहरी नियन्त्रणमा

काठमाडौं ।  ठगी गर्ने र अवैध रूपमा सञ्चालनमा रहेका कन्सल्टेन्सीविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कानुनी कारबाही सुरु गरेको छ । 
उच्च शिक्षाका लागि विदेश पठाइदिन्छु भन्दै नेपाली नागरिकहरूलाई ठगी गरेको भन्दै कार्यालयमा निरन्तर उजुरी, गुनासो र निवेदनहरू प्राप्त भएपछि प्रहरीले यो कदम चालेको हो । 

यसै क्रममा खटिएको विशेष प्रहरी टोलीले काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा अपरेशन चलाउँदै कानुनी मापदण्ड पुरा नगरी अवैध रूपमा सञ्चालन भइरहेका ९५ वटा शैक्षिक परामर्श केन्द्रहरूमा छापा मारेको हो । 

 ती कन्सल्टेन्सीहरूले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा तोकिएका मापदण्ड र प्रक्रियाहरू पुरा नगरी, दर्ता तथा नवीकरण समेत नगरी बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण सम्बन्धी सेवाहरू प्रदान गर्दै आएका थिए ।

गैरकानुनी रूपमा सर्वसाधारणलाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६९ जना शैक्षिक परामर्श केन्द्रका सञ्चालक तथा संचालकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ । 

प्रहरीले यस्ता खालका अन्य कन्सल्टेन्सी हरूबाट ठगीमा परेकाहरूलाई कानुनी प्रक्रिया र न्यायका लागि यथाशीघ्र टेकुस्थित कार्यालयमा सम्पर्क राख्न आह्वानसमेत गरेको छ ।

Share News