सामाजिक सुरक्षा भत्तामा सरकारको ११४ अर्ब खर्च

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा सामाजिक सुरक्षा भत्ता वितरणका लागि राज्य कोषबाट १ खर्ब १४ अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले उपलब्ध गराएको विवरणअनुसार ३८ लाख ६ हजार ६३४ जना लाभग्राहीलाई सो रकम निकासा गरेको हो ।

वृद्धभत्ता, एकल महिला, दलित, अपांगता भएका व्यक्ति तथा अन्य लक्षित समूहलाई उपलब्ध गराइने सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले गर्ने खर्च वार्षिक बढ्दै गएको देखिन्छ । विवरणअनुसार सामाजिक सुरक्षा भत्तामा २०७९/८० मा १ खर्ब ८ अर्ब ३७ करोड २ लाख खर्च भएको थियो ।

त्यस्तै, आव २०८०/८१ मा १.६८ प्रतिशतले वृद्धि भई १ खर्ब १० अर्ब १९ करोड ७० लाख ३१ हजार रुपैयाँ खर्च भएकोमा यो वर्ष १ खर्ब १४ अर्ब बराबर निकासा भएको हो । 

निष्क्रिय लाभग्राही खाताको ट्र्याक गर्ने प्रणाली विकास नभएको तथा विभागले भत्ता वितरणको अनुगमन नगरेकोले मृत्यु भएका व्यक्तिका खातामा सामाजिक सुरक्षा भत्ता गइरहने जोखिम विद्यमान छ ।

विभागले कानुनबमोजिम सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्र्याकिङ पद्धतिको विकास गरी प्रभावकारी ढंगबाट अनुगमन गर्नुपर्ने देखिएको छ । 

Share News