काठमाडौं । जीवनमा हरेक व्यक्तिको आफ्नै सपना हुन्छन्, कसैलाई राम्रो शिक्षा हासिल गर्ने, कसैलाई आफ्नै घर बनाउने, त कसैलाई विदेश घुम्ने । तर धेरैजसो अवस्थामा ती सपना चाहनामा मात्र सीमित रहन्छन् । किनभने योजनाबद्ध बचतको अभावले ती लक्ष्यहरू पछाडि धकेलिँदै जान्छन् । यही वास्तविकतालाई सहज र व्यवस्थित बनाउन सिद्धार्थ बैंकले ल्याएको छ ‘सिद्धार्थ गोल सेभर एकाउन्ट’ ।
यो त्यस्तो आधुनिक बचत योजना हो, जसले सानो–सानो रकमलाई जोड्दै ठूला लक्ष्य पूरा गर्ने बाटो देखाउँछ । जसले व्यक्तिका सपना क्रमशः निर्माण गर्ने वित्तीय यात्रा तयार गर्छ । बैंकका अनुसार यो योजना विशेष गरी त्यस्ता व्यक्तिहरूका लागि डिजाइन गरिएको हो, जसले आफ्नो आम्दानी अनुसार नियमित रूपमा बचत गर्दै भविष्य सुरक्षित बनाउन चाहन्छन् ।
सिद्धार्थ बैंकमा बचत खाता भएका सबै व्यक्तिगत ग्राहकहरूले यो सुविधा सहज रूपमा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । यसले बचतलाई जटिल प्रक्रियाबाट हटाएर सरल, डिजिटल र लक्ष्य केन्द्रित बनाउने बैंकको भनाइ छ ।
बैंकका अनुसार यो योजना पूर्ण रूपमा डिजिटल भएकाले ग्राहकले शाखामा नगई घरमै बसेर मोबाइल बैंकिङमार्फत खाता खोल्न र व्यवस्थापन गर्न सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले बैंकले प्रकाशित गरेको १ वर्षे मुद्दती खाताको ब्याजदरअनुसार प्रतिफल प्राप्त गर्नेछन् । हाल १ वर्षे मुद्दती खाताको ब्याजदर ३.२५ प्रतिशत रहेको बैंकले जनाएको छ ।
ग्राहकहरूले मासिक न्यूनतम १ हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्म बचत गर्न सक्ने व्यवस्था गरिएको छ । आम्दानीअनुसार बचत गर्न सकिने भएकाले यो योजना सबै वर्गका ग्राहकका लागि उपयोगी हुने बैंकको विश्वास छ ।
त्यस्तै, ग्राहकले आफ्नो लक्ष्यअनुसार १ वर्षदेखि १० वर्षसम्मको अवधि छनोट गर्न सक्नेछन् । यसले छोटो तथा दीर्घकालीन दुवै वित्तीय योजना बनाउन सहज बनाउने बताइएको छ । मोबाइल बैंकिङ एपमा लगइन गरी ‘ईजी बैंक’ भित्रको ‘गोल सेभर’ विकल्पमार्फत लक्ष्य निर्धारण गरेर बचत सुरु गर्न सकिने व्यवस्था गरिएको छ । विवरण पुष्टि गरेपछि बचत प्रक्रिया तुरुन्तै सुरु हुन्छ ।
योजनामा स्वचालित रिमाइन्डर सुविधा पनि राखिएको छ, जसले किस्ता तिर्नु अघि ग्राहकलाई जानकारी गराउँछ । साथै, स्ट्यान्डिङ इन्स्ट्रक्सन सेट गरी तोकिएको मितिमा रकम स्वतः खाताबाट कटौती हुने सुविधा उपलब्ध छ । अवधि पूरा भएपछि संचित रकम स्वतः खातामा जम्मा हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
सिद्धार्थ बैंकका अनुसार ‘सिद्धार्थ गोल सेभर एकाउन्ट’ केवल बचत गर्ने माध्यम मात्र नभई ग्राहकको सपना पूरा गर्ने दीर्घकालीन वित्तीय सहयात्री हो । बैंकले सानो सुरुवातबाट ठूला लक्ष्य हासिल गर्न आजैबाट योजनाबद्ध बचत सुरु गर्न आग्रह गरेको छ ।