मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित, आयोजना ठप्प हुने जोखिम

काठमाडौं । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर रूपमा प्रभावित भएको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले रासससँगको कुराकानीमा पछिल्लो समय निर्माण लागत अत्यधिक बढेकाले आयोजना कार्यान्वयनमा समस्या देखिएको बताए ।

उनका अनुसार डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिकको पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा निर्माण कार्य अघि बढाउन नसकिने अवस्था सिर्जना भएको छ । इन्धन र बिटुमिनको मूल्य आकासिँदा निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेको उनले बताए ।

अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे । समयानुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएको उनको भनाइ छ ।

समयमै मूल्य समायोजन नभए विकास आयोजना ठप्प हुने जोखिम बढ्ने भन्दै उनले बैंक ग्यारेन्टी, बीमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग आग्रह गरे ।

Share News