काठमाडौं । देशभर बढ्दै गएको बाँदर–मानव द्वन्द्व र कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि सरकारले ‘टास्क फोर्स’ गठन गर्ने भएको छ ।
वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको पहलमा शुक्रबार मन्त्रालयमा भएको उच्चस्तरीय छलफलले यस्तो निष्कर्ष निकालेको हो ।
खेतबारी, मानव बस्ती र वन क्षेत्र आसपास बढ्दो बाँदरको समस्यालाई वैज्ञानिक र व्यावहारिक ढंगले समाधान गर्न कृषि तथा वन मन्त्रालयका अधिकारी र सरोकारवालाबीच गम्भीर छलफल भएको छ ।
मन्त्री चौधरीले अब परम्परागत शैलीभन्दा पनि विज्ञहरूको प्राविधिक टोलीमार्फत यो समस्याको दीर्घकालीन समाधान खोजिने जानकारी दिइन् ।
छलफलमा केन्द्रले नीति बनाउने र स्थानीय तहले त्यसलाई प्रत्यक्ष कार्यान्वयन गर्ने मोडालिटी, वन्यजन्तु विशेषज्ञ, संरक्षणविद् र कृषि वैज्ञानिकहरू सम्मिलित टोली निर्माण गर्ने र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण र नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गर्ने विषयमा छलफल भएको थियो ।
छलफलमा कृषि सचिव डा. राजेन्द्र मिश्र, प्रतिनिधिसभा सदस्य सागर ढकाल, वन मन्त्रालयका सह-सचिवहरूलगायतको उपस्थिति थियो ।