जबरजस्ती मुद्दामा मिलापत्र गराउने पूर्ववडाध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । जबरजस्ती करणीसम्बन्धी मुद्दामा मिलापत्र गराउने प्रयास गरेको आरोपमा कपिलवस्तुमा चार जना पक्राउ परेका छन् । 

पीडितको उजुरीका आधारमा अनुसन्धान भइरहेका बेला मिलापत्रका नाममा अनुचित प्रभाव पार्ने काम गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पीडितकी आमा (परिवर्तिन नाम ५१), यशोधरा गाउँपालिका–५ का  ५५ वर्षीय नइम भन्ने लईस पठान (पूर्ववडाध्यक्ष), मोहम्मद सफिक पठान र ४५ वर्षीय लेखन्दास राम वृक्ष कोहार रहेका छन् ।

कपिलवस्तु यशोधरा ५ का वर्ष २६ का इलियास पठानले २१ गते आफ्नै घरको कोठाभित्र लगेर जबरजस्ती करणी गरेको आरोप लागेको थियो । पीडितकी आमाले २३ गते जाहेरी दर्ता गराएपछि मुद्दा अघि बढाइएको थियो ।

२७ गते मिलापत्र कागज र मुद्दा फिर्ता गरिपाऊँ भन्ने निवेदनसहित पीडितकी आमा र अर्का एक व्यक्ति कार्यालयमा उपस्थित भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा जग्गा सम्बन्धी विवादलाई झुट्टा कारण देखाई मिलापत्र गराउने कार्यमा प्रतिवादीका बुवा मोहम्मद सफिक पठानको समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनको साथबाट १ लाख ३ हजार ५५० रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीका अनुसार पीडितलाई अनुचित प्रभावमा पारी जबरजस्ती करणीसम्बन्धी फौजदारी कसूरमा मिलापत्र गराउने कार्यमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको छ । 

साथै मिलापत्र कागज लेखेको आरोपमा राम वृक्ष कोहारलाई पनि पक्राउ अनुमति जारी भई अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको छ । 

Share News