चालु खाता ६.१८ खर्ब र शोधनान्तर ७.३१ खर्ब बचतमा, वैदेशिक लगानी वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब २२ अर्ब ६७ करोड रूपैयाँले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा समेत चालु खाता बचत बढेको छ । गत वर्ष १ अर्ब ६४ करोड डलर बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब ३२ करोड डलरले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।

त्यसैगरी प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १४ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा शोधनान्तर स्थिति पनि वृद्धि भई अघिल्लो वर्षको २ अर्ब ५५ करोडको तुलनामा समीक्षा अवधिमा ५ अर्ब १० करोडले बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

Share News