काठमाडौं । सरकारले राष्ट्रिय गौरवका सडक आयोजना र रणनीतिक राजमार्गहरूको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हुलाकी, पुष्पलाल (मध्यपहाडी) र उत्तर-दक्षिण राजमार्ग जस्ता ठूला पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेका हुन् ।
सरकारले भौतिक पूर्वाधारको विकासलाई आर्थिक समृद्धिको आधार मान्दै सडक सञ्जाल विस्तारमा ब्रेक थ्रु गर्ने लक्ष्य लिएको छ ।
हुलाकी राजमार्ग, पुष्पलाल राजमार्ग र उत्तर-दक्षिण करिडोरहरूको बाँकी काम द्रुत गतिमा सम्पन्न गर्ने र भएका सडकहरूको विस्तार तथा स्तरोन्नति गरिनेछ ।
काठमाडौं-तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयभित्रै सम्पन्न गर्न विशेष स्रोत र साधनको परिचालन गरिने राष्ट्रपति पौडेलले बताए ।
सबै स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्गसँग जोड्ने र कम्तीमा १२ महिना सवारी साधन चल्न सक्ने (बाह्रैमासे) सडक पु¥याउने सरकारको संकल्प छ ।
पर्यटकीय सम्भावना बोकेका प्रमुख गन्तव्यहरूमा सहज पहुँचका लागि सडक सुविधा विस्तार गर्ने योजना अघि सारिएको छ ।
सडक पूर्वाधारसँगै सार्वजनिक यातायात सेवालाई सुरक्षित, भरभर्दो र व्यवस्थित बनाउन आवश्यक सुधारका कदम चालिने नीतिमा उल्लेख छ ।