काठमाडौं । द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ले सर्वसाधारणमा सेयर निष्कासन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडसँग संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
सम्झौताअनुसार प्राइभेट कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने, आईपीओ निष्काशनका लागि आवश्यक पूर्वतयारी गर्ने तथा ‘रोड टु आईपीओ’ प्रक्रिया अघि बढाउन नबिल इन्भेष्टमेण्टले परामर्श तथा समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
सम्झौतापत्रमा द म्यासिफ होटल प्राइभेट लिमिटेडका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिप काठमाण्डौं अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालित पाँचतारे होटल हो । होटलमा ३०८ कोठा तथा सुइट रहेका छन् भने साना–ठूला गरी १० वटा बैठक हलसमेत उपलब्ध छन् । कोठाहरू आधुनिक सुविधासहित डिजाइन गरिएका छन् र अतिथिहरूलाई उच्चस्तरीय सेवा प्रदान गरिन्छ ।
होटलमा अत्याधुनिक हेल्थ क्लब, स्पा तथा इन–हाउस रेस्टुरेन्टमार्फत अन्तर्राष्ट्रियस्तरको भोजन सेवा उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने सुविधासम्पन्न बैठक हलहरू पनि रहेका छन् ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेण्टले होटललाई आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीमा सहयोग गर्नेछ । पूर्वतयारी पूरा भएपछि नियामक निकायसमक्ष सार्वजनिक निष्काशनको अनुमति माग गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।