९० वटा सवारी साधन बेवारिसे, सरकारको स्वामित्वमा लैजाँदै

काठमाडौं । बेवारिसे सवारी साधनको हकदाबी गर्न १५ दिनको ताकेता गरिएको छ । डिभिजन वन कार्यालय चितवनले वनजन्य अपराधमा प्रयोग भएका र लामो समयदेखि बेवारिसे अवस्थामा रहेका सवारी साधनका धनीलाई १५ दिनभित्र हकदाबी गर्न भनिएको हो । 

कार्यालयले विभिन्न समयमा वन क्षेत्रमा गस्ती गर्ने क्रममा बरामद गरी कार्यालयमा राखिएका बस, ट्रक, ट्याक्टर, पिकअप भ्यान, अटो रिक्सा तथा मोटरसाइकललगायत सवारी साधनका वास्तविक धनी सम्पर्कमा नआएको जनाएको छ ।

कार्यालयका अनुसार बरामद सवारी साधनमध्ये १४ वटा चारपाङ्ग्रे सवारी साधन (मिनी बस, ट्रक, पिकअप भ्यान), ३ वटा अटो रिक्सा, १२ वटा ट्याक्टर तथा ६१ वटा मोटरसाइकल गरी ९० वटा सवारी साधन रहेका छन् ।

कार्यालयका अनुसार सम्बन्धित सवारी साधनको हकदाबी गर्ने व्यक्तिले स्वामित्व पुष्टि हुने प्रमाणसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

तोकिएको समयभित्र प्रमाणसहित उपस्थित नभए वन ऐन, २०७६ को दफा ६४ (३) बमोजिम ती सवारी साधन नेपाल सरकारको स्वामित्वमा जाने कार्यालयले जनाएको छ ।

Share News