काठमाडौं । सरकारले काठमाडौंका तीन ठाउँ बाहेकमा प्रदर्शन तथा आन्दलोन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा ठाउँ तोक्दै अन्य ठाउँमा भेला तथा प्रदर्शन गर्न रोक लगाएको हो ।
प्रशासन कार्यालयले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने गरी अन्य ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको हो । तोकिएका यी क्षेत्रबाहेकमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको सीडीओ कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
अहिले राजावादीहरुले जेठ १५ देखि आन्दोलनका अनिश्चित कार्यक्रम निर्धारण गरेका छन् । आइतबार पनि उनीहरुले नक्साल–नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । तर, प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंह लगायतलाई पक्राउ गरेको थियो । अहिले उनीहरुलाई रिहाइ गरिसकेको छ ।