प्रहरीले राजावादीलाई धमाधम पक्राउ गर्दै, सांसददेखि पूर्वगृहमन्त्री नियन्त्रणमा

काठमाडौं । प्रहरीले राजावादी प्रदर्शनकारीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रहरीका अनुसार हालसम्म ८ जना पक्राउ परिसकेका छन् । आइतबार राजावादीले प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । सो क्रममा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह, ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका-१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना, टोखा नगरपालिका-२ का ३३ वर्षीय विनोद कपाली र राजीव झालाई नियन्त्रणमा लिएको बताएको छ। 

उनीहरू सबैलाई नारायणचौरबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले धमाधम नियन्त्रणमा लिएपछि राजावादीले विरोध गरिरहेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब लडाइँ सुरु भएको बताएका छन् । 

राजसंस्था पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । उनीहरुले अब निरन्तर आन्दोलनका कार्यक्रम अगाडि बढाउने बताइरहेका छन् । 

प्रहरी धमाधम राजावादी समर्थकलाई पक्राउ गर्न थालेपछि राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बाेलाएकाे छ । 
 

Share News