काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री गरिने डिलर तथा खुद्रा वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखी बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै डिलर खुद्रा तथा थोक बिक्रेताले उपभोक्ता संरक्षण ऐन, २०७५ दफा ६ को उपदफा २ बमोजिम एमआरपीसहितको लेबल लगाएका वस्तुहरू मात्रै बिक्री-वितरण गर्न आग्रह गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तु तथा पैठारी वस्तु भए पैठारी कर्ताले बिक्री वितरण गर्ने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेबल लगाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
तर उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुनको विपरीत केही उत्पादक र पैठारीकर्ताहरूले बिना लेबलका उत्पादन बजारमा खुल्ला बिक्री-वितरण गरेको विभागको अनुगमनबाट पाइएपछि एमआरपी अनिवार्य लगाउन भनेको हो ।
पछिल्लो समय बजारमा खुलमखुला रूपमा एमआरपी नराखी वस्तु बिक्री-वितरण गरेको भेटिएपछि विभागले धमाधम कारबाही समेत गरिरहेको छ ।
