काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको हो ।
अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रूपमा नियुक्त गरेको भन्दै रिट पेस गरेका हुन् ।
उनीहरूले सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस गरेका हुन् ।
उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १८ औं गभर्नरमा नियुक्त गरेको थियो ।
गभर्नर सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी कामु गभर्नर नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले सिफारिसको एक नम्बरमा रहेका पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।