राजावादी प्रदर्शन प्रकरण : दुर्गा प्रसाईंलगायत ५३ जनालाई दुई दिन म्याद थप

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गत चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटनासमेत भएका थिए । सोही दिनदेखि प्रहरीले दर्जनौं व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनीहरूविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेको छ ।

राज्यविरुद्धको कसुरमा मात्र २८ जना अभियुक्त छन् । सो घटनामा प्रमुख अभियुक्त दुर्गा प्रसाईं चैत १५ कै दिन निषेधित क्षेत्रतर्फ आफैंले गाडी चलाएर प्रवेश गरेको बताइएको छ । भिड नियन्त्रणबाहिर जानुमा त्यसको मुख्य भूमिका रहेको प्रहरीको दाबी छ ।

प्रसाईं घटनापछि भारत फरार भएका थिए भने पछि पक्राउ गरी नेपाल फर्काइएको हो ।

उक्त प्रकरणमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा रहेका छन् ।

प्रहरीले अब थपिएको म्यादभित्रै अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । कानुनअनुसार सरकारी वकिल कार्यालयले ६० दिनभित्र अभियोगपत्र अदालतमा पेस गर्नुपर्नेछ ।

Share News