काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले एक महिना बितिसक्दा पनि सरकारले गभर्नर नियुक्त गर्न असफल भएको बताएका हुन् ।
उनले दुई तिहाइको सरकारले एउटा गभर्नर पनि नियुक्त गर्न नसक्नु विडम्बना रहेको बताउँदै अब दुई तिहाइको सरकारको अहंकाररूपी बेलुन फुटिसकेको धारणा राखे ।
अध्यक्ष दाहालले गभर्नर नियुक्ति प्रक्रियामा स्वार्थ समूह हावी भएको आरोप पनि लगाए । उनले स्वायत्त संस्थामा सरकारले राजनीतिकरण गरेको बताए । उनले वर्तमान सरकारले जनतामा उत्साह जगाउन नसकेको धारणा राखे ।
‘सत्ताधारी दलका सांसदहरूमा नै नीति तथा कार्यक्रमले आशा र उत्साह पैदा गर्दैन भने आम जनतामा आशा कसरी सञ्चार गर्ला ? यो कार्यक्रम कस्तो र कसका निम्ति आएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ, यो सरकारले जनस्तरको असन्तोष, अर्थतन्त्रको जटिलता कार्यान्वयन गर्न सकेको छैन,’ उनले भने ।
यस्तै, उनले कुलमान घिसिङलाई समर्थन गरेको झोंकमा प्रधानमन्त्रीले आफ्नै मन्त्रीलाई निष्काशित गरेको धारणा राखे । ‘एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाइ छोड्नुभयो । कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई पनि निष्काशित गर्नुभयो,’ उनले भने ।
यस्तै, सरकारले दूरगामी महत्त्वका योजनामा सरकारले कैंची चलाएको धारणा राखे । उनले नीति तथा कार्यक्रम कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रका दीर्घकालीन महत्त्वका योजना हटाएको आरोप लगाए ।
विकासको ढाँचामा कोर्स करेक्सन गर्ने कुरा भनिए पनि कसका हितका लागि करेक्सन गरियो भन्ने नखुलेको उनको जिज्ञासा छ । उनले राष्ट्रिय गौरवका आयोजना भन्ने शब्द नै नीति तथा कार्यक्रममा नरहेको सुनाए ।