काठमाठौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले केही समय बिजुली जानेबित्तिकै विभिन्न व्यक्तिको नाम लिएर लोडसेडिङ भयो भनेर गलत प्रचार गर्ने गरिएको बताएका छन् । शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै उनले पछिल्लो समय बिजुली जाँदा गलत प्रचार गरिएको बताए ।
‘४८ हजार स्मार्ट मिटरको तथ्याङ्क उपलब्ध छ । २०८१ साउनदेखि चैतसम्म वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ । तर, पछिल्लो समयमा झ्याप झ्याप बत्ति जान लाग्यो भनेर गलत प्रचार गरिएको छ । यो एउटा संवेदनशीलता हो,’ उनले भने, 'उनले भने, ‘चैतसम्म कुल अवरोध औसत प्रतिग्राहक ३७ मिनेट भएको छ । यसमा कुनै समय एक/दुई मिनेट, कुनै समय एक/दुई घण्टा लागेको हुन सक्छ । औसतमा प्रतिग्राहक ५०९ घण्टा अवरोध भएको छ ।’
शाक्यले आधा एक घण्टा बिजुली जानेबित्तिकै विभिन्न व्यक्तिको नाम लिएर अब लोडसेडिङ गर्न लाग्यो भनेर सामाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै आपत्ति जनाए। हाल भइरहेको अवरोधलाई घटाउँदै लैजाने उनले बताए ।
पछिल्लो तथ्याङ्क अनुसार प्राधिकरणका ५५ लाख ६६ हजार ग्राहक पुगेका छन् । साथै १२.५९ प्रतिशत विद्युत चुहावट रहेको छ ।
२०७२ सालमा ऊर्जा दशक घोषणा गरेपछि सरकारले विद्युत प्राधिकरणमार्फत व्यापक लगानी गरेको छ । प्राधिकरणको कुल सम्पत्ति ६ खर्बभन्दा बढी रहेको उनले बताए । तर, प्राधिकरणको प्रणाली कमजोर रहेको उनको भनाइ छ ।