काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र सामाजिक मर्यादाविपरीत देउसी-भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सार्वजनिक स्थानमा आयोजित देउसी-भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले कात्तिक २६ गते राति करिब १२ बजेर ५ मिनेटको समयमा लुम्बिनी सांस्कृतिक नगरपालिका-१० स्थित महिलावार बजारबाट दुवै जनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका-७ निवासी ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका-३ निवासी २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन् ।
प्रहरीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकता विपरीत हुने गरी सार्वजनिक कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूमाथि सार्वजनिक हित र नैतिकता विरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
यस घटनापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले परम्परागत देउसी-भैलो कार्यक्रमको मौलिकता, सांस्कृतिक मूल्य र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ । देउसी-भैलोजस्ता सांस्कृतिक कार्यक्रममा स्वेच्छाचारी तथा अमर्यादित रूपमा अश्लील नृत्य, गीत तथा सङ्गीत प्रदर्शन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रहरीले स्पष्ट पारेको छ ।