काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रदर्शनका नाममा भइरहेका उश्रृंखल गतिविधिले विदेशी लगानीकर्ताहरूलाई प्रभावित गर्ने चेतावनी दिएका छन् ।
गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा राजावादी समूहद्वारा निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गरिएपछि नेपाल चेम्बर अफ कमर्सले गम्भीर आपत्ति जनाएको छ ।
अध्यक्ष अग्रवालले प्रदर्शनको नाममा गरिएका हिंसात्मक क्रियाकलाप कुनै पनि रूपमा स्वीकार्य नहुने भन्दै सरकारको सुरक्षाप्रति कमजोरी देखिएको आरोप लगाए । उनले यस्तो घटना दोहोरिन नदिन सरकारलाई कडा सुरक्षा रणनीति अपनाउन आग्रह गरे ।
‘यस्ता घटनाले उद्योगी व्यवसायीहरूको मनोबल गिराउने मात्र होइन, समग्र अर्थतन्त्रमै गम्भीर असर पार्छ । सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो । बिना सुरक्षात्मक उपाय प्रदर्शनको अनुमति दिनु गलत हो,’ अध्यक्ष अग्रवालले भने ।
उनले नेपालको अर्थतन्त्र बिस्तारै सुधारउन्मुख बन्दै गर्दा यस्ता उश्रृंखल गतिविधिले लगानीमैत्री वातावरणमा अवरोध सिर्जना गर्ने र विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न हतोत्साहित पार्ने चिन्ता व्यक्त गरे।
‘नेपालको व्यवसायिक वातावरण क्रमशः सुधार हुँदैछ । यस्ता घटनाले मुलुकको आर्थिक विश्वसनीयतामा आँच आउँछ । प्रदर्शन गर्न पाउने अधिकार सबैलाई छ, तर लुटपाट, तोडफोड र आगजनी कुनै पनि रूपमा स्वीकार्य छैन । यस्तो अवस्थालाई रोक्न सरकारले प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्छ,’ उनले थपे।
अध्यक्ष अग्रवालले बीमा नगरिएका व्यवसायिक प्रतिष्ठानहरूमा भएको क्षतिको उचित मूल्यांकन गरी सरकारले आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग समेत गरे ।