काठमाडौ । राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडाफोडमा करिव ८० लाख ३३ हजार रुपैयाँ बराबर क्षति भएको भाटभटेनी सुपरमार्केट्सले जनाएको छ । चैत १५ गते राजाबादी अराजक समूहले भाटभटेनी सुपरमार्केट्समा लुटपाट र तोडफोड गरेका थिए ।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ । राजावादी समूहले गरेको आन्दोलनमा उनीहरुका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।
त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जनालाई नेपाल प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ ।
केही सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिने क्रममा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरूङज्यूले ७५/८० लाख बराबरको क्षति भएको अनुमान गरिएको भन्नुपर्नेमा टङस्लिप भइ भुलवश ७५/८० करोड बोल्न पुगेको पनि सीओओ पौडेलले बताए ।
‘कोटेश्वर भाटभटेनीमा भएको लुटपाट र तोडफोड सबैको जानकारीमा छ । कहिलेकँही बोल्दा जिब्रो चिप्लिन्छ । यसैलाई ठूलो विषय कसैले पनि बनाउनु भएन’ उनले भने । तनावका बीच बोल्दा कहिलेकही यस्तो हुनुलाई सामान्य रुपमा लिनु पर्ने उनले बताए ।
तोडफोड भएको उक्त सुपरमार्केट्समा चैत १६ गते विहान देखिनै नियमित सञ्चालनमा आएको छ । ‘सरसफाइको काम रातभरी गर्यौ र बजार खुला गरेको छौं । तोडफोडको मर्मतको काम शुरु भएको छ’ उनले भने ।