काठमाडौं । नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ वटा ऐतिहासिक तथा पुरातात्विक महत्वका कलात्मक वस्तु फिर्ता गरिएका छन् ।
यीमध्ये तीनवटा पौवा चित्र काठमाडौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए, भने नवौँ शताब्दीको स्थानक बुद्धको प्रस्तर मूर्ति बुङ्मतीको मच्छिन्द्रबहाल परिसरबाट हराएको थियो । पाटनको गुइत टोलको मुछलिन्द बुद्ध मूर्ति र अन्य १६ कलाकृतिहरू पनि विभिन्न समयमा चोरी भई अमेरिका पुगेका थिए ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित घरबास सुरक्षा अनुसन्धान विभाग र म्यानहटन जिल्ला न्यायधिवक्ताको कार्यालय को सहकार्यमा ती कलात्मक वस्तुहरू पहिचान गरी फिर्ता गरिएको हो । अमेरिकी अधिकारीहरूले फागुन १६ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई ती वस्तुहरू हस्तान्तरण गरेका थिए।
नेपाल सम्पदा पुनःस्थापना अभियान, आर्ट इन्ष्टिच्युट अफ सिकागो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी इन्टरपोल शाखा, नेपालस्थित अमेरिकी राजदूतावास, लस्ट आर्ट्स अफ नेपाल लगायतका संस्थाहरूको सहकार्यमा यी वस्तुहरू नेपाल फिर्ता गराइएको हो ।
सन् १९८६ यता नेपालबाट हराएका पुरातात्विक तथा कलात्मक वस्तु फिर्ता गर्ने अभियान चलिरहेको छ । हालसम्म बेलायत, अमेरिका, चीन, भारत, जर्मनी, अष्ट्रेलिया लगायतका देशबाट १७७ वटा कलात्मक वस्तु नेपाल फिर्ता भइसकेका छन् ।
अहिलेसम्म संयुक्त राज्य अमेरिकाबाट मात्रै नेपालमा फर्काइएका पुरातात्विक सम्पदाहरूको सङ्ख्या १०४ पुगेको छ । फ्रान्स, बेलायत, चीन, अष्ट्रिया लगायतका देशहरूबाट थप सम्पदा फिर्ता गर्न कूटनीतिक पहल जारी रहेको पुरातत्व विभागले जनाएको छ ।