तीनकुने घटनाको छानविन गरी दोषीउपर कडा कारबाही गर्न सांसदहरूको माग

<p>काठमाडौं । चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सांसदहरूले सरकारलाई दबाब दिएका छन् । आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले सुरक्षाको कमजोरीले हिंसा, आगजनी र जनधनको क्षति भएको भन्दै सरकारको असक्षमतामाथि प्रश्न उठाए । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले तीनकुने घटनालाई अराजकता र [&hellip;]</p>

काठमाडौं । चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सांसदहरूले सरकारलाई दबाब दिएका छन् ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले सुरक्षाको कमजोरीले हिंसा, आगजनी र जनधनको क्षति भएको भन्दै सरकारको असक्षमतामाथि प्रश्न उठाए ।

नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले तीनकुने घटनालाई अराजकता र उदण्डताको पराकाष्ठा भन्दै यसको कडा निन्दा गरे । उनले भने, ‘संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न पाइन्छ, तर तीनकुनेमा भएको हिंसात्मक गतिविधि क्षम्य हुन सक्दैन । सरकारले सुरक्षाका लागि पूर्व तयारी गर्न नसक्दा ठूलो क्षति भयो ।’

नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेत सुवेदीले घटनामा संलग्नलाई कडा कानूनी कारबाही गर्न माग गरिन् । उनले पत्रकारमाथिको आक्रमण र कीर्तिपुरका एक युवाको मृत्युप्रति गहिरो दुःख व्यक्त गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले उक्त घटनाले देशको शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत प्रभावित पारेको बताउँदै दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरिन् । उनले भनिन्, ‘युवाहरूको भविष्य नै अनिश्चित हुने गरी हिंसात्मक घटना भयो। सरकारको नेतृत्व असफल भएको हो कि भन्ने प्रश्न उठेको छ ।’

सांसदहरूले यस्ता घटनाहरू दोहोरिन नदिन कडा सुरक्षा उपाय अपनाउन र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई सचेत गराएका छन् ।

Share News