काठमाडौं । राजावादी समूहको प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक घटनाको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) ले चैत २५ भित्र देशव्यापी भण्डाफोर अभियानसहित विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्तिमाथि आक्रमण गर्नु अराजकता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले सरकारको असक्षमता र सुरक्षाकर्मी परिचालनमा कमजोरी देखिएको आरोप लगाए । उनले प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरे ।
उनले भने, ‘राजावादी प्रदर्शनको नाममा हिंसा मच्चाउने, सञ्चारगृहमाथि आक्रमण गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कार्य निन्दनीय छ । हाम्रो पार्टीको केन्द्रीय कार्यालय, जिल्ला कार्यालय र अध्यक्ष माधवकुमार नेपाल निवासमा भएको आक्रमणको विरोधमा सबै तहमा व्यापक प्रदर्शन गरिनेछ ।’
नेकपा एसले हिंसा र अराजकता रोक्न सरकारलाई कडा कदम चाल्न आग्रह गर्दै आफ्ना सबै कमिटी तथा जनसंगठनहरूलाई विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ ।