काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तीनकुनेमा राजावादी समूहले आयोजना गरेको सभालाई अराजकताहरुको संज्ञा दिएका छन् ।
शुक्रबार समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा काठमाडौंमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुनेलाई प्रतिगामी र निरङ्कुशतावादीहरुको प्रतीकजस्तो बनेको टिप्पणी गरे।
उनले तीनकुनेमा भएको घटनाप्रति आपत्ति जनाउँदै राजावादी शक्तिहरूले हिंसा मच्चाएर आतंक सिर्जना गर्न खोजेको आरोप लगाए । ‘घरमा आगो लगाउने, प्रहरीमाथि ढुंगा हान्ने, एक-दुई जनाको ज्यान लिएर देशभर आतंक फैलाउने योजनामा उनीहरू छन् । यो नै राजावादीहरूको चरित्र हो,’ अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बताउँदै इतिहासलाई उल्ट्याउने कुनै पनि प्रयास सफल नहुने चेतावनी दिए ।
‘गणतन्त्र समर्थक लाखौं नागरिक सडकमा छन् । गणतन्त्रवादी र राजावादीहरूको चरित्र नेपाली जनताले आजै देखे,’ उनले भने ।
उनले तीनकुने घटनालाई ‘मण्डले अराजकताको पराकाष्ठा’ भन्दै यसलाई गणतन्त्रविरोधी शक्तिहरूको नियोजित प्रयासका रूपमा चित्रण गरे ।