काठमाडौं । लक्ष्मी सनराईज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र रेमिट हाइड्रोबीच ताप्लेजुङ्ग जिल्लास्थित घुन्सा नदीमा निमार्ण गर्ने ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।
सो आयोजनाको कुल लागत १८ अर्ब १३ करोड रहेको छ । यो सहकार्यले नेपालको नविकरणीय उर्जा परिदृश्यमा महत्वपुर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।
घुन्सा खोला जलविद्युत आयोजनाले २०७९ साउन ८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८१ वैशाख २१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ५ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरु मध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ३ अर्ब, नागरिक लगानी कोषको २ अर्ब, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड र एभरेष्ट बैंकको १ अर्ब २५ करोड समेत गरी जम्मा १२ अर्ब ६९ करोड ४० लाख रहेको छ।
सो आयोजना डिसेम्बर २०३० भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भए पश्चात वार्षिक करिब ४६२.२८ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो नेपाल सरकारको जनताको जलविद्युत कार्यक्रम – नेपालको पानी जनताको लगानी जलविद्युत आयोजनामा थप टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।