
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।
‘देश साँच्चै अफ्ठ्याराेमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र विलौना गर्नुको कुनै विकल्प छैन । कांग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे ।
उनले संसदको हिउँधे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।
उनले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिए ।