काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । बैंकको क्षमता विकास, बैंकको सामथ्र्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने जानकारी दिए ।
उनले बैंक सबल र प्रभावकारी भएमात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताए । उनले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको जानकारी दिए ।
‘बैंक सबल भयो, प्रभावकारी भयो, बैंकको इज्जत माथि उठ्यो भने समस्त कर्मचारीको इज्जत माथि उठ्छ । त्यसमा हरेकले सेभिङ गर्न पाउँछ, बैंकको प्रतिष्ठा कमजोर भयो, बैंकको पर्फमेन्स कमजोर भयो भने त्यसको अपजस सबैलाई बाँडिन पुग्छ,’ उनले भने ।
उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताए । बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको जानकारी दिए ।