काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङको विकाससँगै ठगीका नयाँ स्वरूप पनि बढिरहेको जनाएको छ । वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै ठगीका नयाँ स्वरूपहरू बढिरहेकाले वित्तीय कारोबार गर्दा सावधानी अपनाउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
‘पछिल्लो समयमा अनलाइन बैंकिङको विकाससँगै ठगीका नयाँनयाँ स्वरूपहरू समेत बढिरहेको सन्दर्भमा वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अत्यावश्यक छ,’ राष्ट्र बैंकले भन्यो ।
के तपाईंलाई अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्स एप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमा, विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी, फोरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू प्राप्त भएको छ ?
यदि आएको छ भने सजग रहन राष्ट्र बैंकले आग्रह गरेको छ । किनभने यस्ता सन्देशहरू वित्तीय ठगीका लागि पठाइएका सन्देशहरू हुने गरेको राष्ट्र बैंकको भनाइ छ ।
यस्ता सन्देशहरूमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव दिँदै व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट आर्थिक हानी नोक्सानी पुग्न सक्ने राष्ट्र बैंकले जनाएको छ । त्यसैले अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुने राष्ट्र बैंकको भनाइ छ ।
‘कहिलेकाहीँ परिचित व्यक्तिको मेसेन्जर, ह्वाट्स एपबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्यूआर कोड समेत प्राप्त हुनसक्छ, त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्दछ ,’ राष्ट्र बैंकको वित्तीय चेतनामा उल्लेख छ ।