घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’

<p>पाल्पा । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ । हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडा को व्यापार गरिरहेका छन् [&hellip;]</p>

शिव काफ्ले

पाल्पा । बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।

हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडा

को व्यापार गरिरहेका छन् । हरेक दिन ढाका टोपी, इस्टकोटकमा सजिएर पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्छन् । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वीटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो ।

उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उनको आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको सुनाए ।

अहिले उनी पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्छन् । उनले सुरुमा करिब पाँच वर्षजति भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाञ्चल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गरे ।

नेपाल फर्किएपछि उनी पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाउने गरेका छन् । तानसेनमा व्यापार गर्ने क्रममा उनी रामपुर पुगेका हुन् । तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँगाउँमा राम्रो व्यापार हुन्छ भनेपछि उनी त्यहाँ पुगेका हुन् । ‘म त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु,’ उनले भने ।

रामपुरमा सुरुआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने व्यापार घटेको उनको अनुभव छ। रामपुरमा व्यापारिक पसल बढ्दै जाँदा घुमन्ते व्यापारमा असर पुगेको उनको अनुभव छ । पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उनको बुझाइ छ । उनको मुख्य व्यापार भनेको राडीपाखी हो । तर, अहिले बढीमात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ ।

गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरु जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उनको अनुभव छ । सुरुआती दिनमा गाउँगाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उनको अनुभव छ ।

पहिला दिनमा २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा चार हजार जति कमाइ हुने गरेको उनी । ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुसीका साथ जीवन बिताइरहेको उनले बताए । राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउछन् भने अन्य सामान काठमाडौँबाट खरिदगरी व्यापार गरिरहेका छन् ।

जुम्लामा राडीपाखी लिन उहाँ चार/चार महिनामा जान्छन् भने काठमाडौँमा महिनामा एक पटक पुग्छन् । राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिने भएकाले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उनले बताए । राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ ।

काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन् । उनीहरुको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ । एक व्यक्तिको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उनी बताउँछन् ।

जेठो छोरो स्नातक अध्ययन पूरा गरी अहिले लोकसेवाको तयारीमा छन् । कान्छो छोरो एसइई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन् । छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उनले सुनाए ।

बाउबाजेको पालादेखि नै चलिआएको यो पेसा उनले अहिलेसम्म पनि निरन्तरता दिएका हुन् । यसरी व्यापार गर्ने हिजोआज पुराना व्यक्तिले छाड्दै गएका छन् । बाउबाजेले गरेको पेसा आजसम्म धान्दै आएका काफ्ले यो पेसा आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न इच्छुक भने छैनन् ।

परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भए पनि पढ्न नपाएको उनको गुनासो छ । कक्षा १० सम्म पढेका काफ्ले आफूले दुःख गरेरै भए पनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँगाउँमा व्यापारमा खट्नुपरेको बताए ।

अहिले उनले रामपुरका अलवा पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्छन् । घुमन्ते व्यापारमा उनको साथमा पहिला दुईरतीन जना साथी थिए, अहिले भने उनी एक्लै छन् ।

Share News