भद्रपुर । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार ८ सय १३ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा ५ करोड १४ लाख ७९ हजार ५ सय ६६ रुपैयाँ बढी राजस्व संकलन गरेको हो ।
यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा ८८ करोड ६ लाख ८७ हजार २ सय ४७ रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आव २०८०/८१ मा २० हजार ६३ कुल सवारी दर्ता हुँदा १९ हजार ९ सय २० रुपैयाँ सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए । यसैगरी कार्यालयले सवारी जाँचपास ११ हजार ४ सय ४१ र रुट अनुमति ५ सय ३४ दिएको थियो ।
गत आव २०८०/८१ मा सबैभन्दा धेरै ७ हजार ६ सय १५ मोटरसाइकल दर्ता हुँदा १ हजार ७ सय ५ इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बस १ सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप १ सय ६०, कार दुई सय ७०, भ्यान १ सय ३६, पिकअप एकस २९, ट्र्याक्टर १ सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।
दर्ता भएका जम्मा सवारीमध्ये १ हजार दुई सय ५७ सार्वजनिक, ९ हजार ४ सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र १ हजार ९ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख बोहराले हप्ताको चार दिन (आइतबारदेखि बुधबार) चालक अनुमतिपत्रको लिखित परीक्षा र हप्ताको पाँच दिन (आइतबारदेखि बिहीबार) चालक अनुमतिको प्रयोगात्मक परीक्षा सञ्चालन हुने गरेको जानकारी दिए ।