बेलबारी । जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन्। पूर्वी तराई क्षेत्रमा वर्षौंदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ ।
लगानीअनुसार मूल्य नपाउँदा जुटखेतीतर्फ आकर्षण घटेको धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले बताए । ‘जुट उत्पादनमा लगानी धेरै लाग्छ । लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुटखेती छाड्दै गएका हौँ,’ उनले भने ।
विगतमा तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरेको चौधरीले बताए । तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको किसान बताउँछन् ।
जुट सफाइ (धुने) गर्ने मजदुरलाई ४० मुठा धोएबापत ६ मुठा दिने चलन थियो । अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको चौधरीको भनाइ छ ।
जहदा–७ का किसान राजनिश सिंहले उचित मूल्य नपाउँदा समय यसप्रति आकर्षण घट्दो रहेको बताए। तथ्यांकमा भने उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार ३५१ मेट्रिक टन, आव २०७९/८० मा सात हजार ४०९ मेट्रिक टन र आव २०८०/८१ मा सात हजार ७३१ मेट्रिक टन जुट उत्पादन भएको छ ।
कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहका अनुसार मोरङमा पाँच हजार १२५ हेक्टर जुटखेती गरिएको थियो । आव २०७८/७९ मा प्रतिक्विन्टल ११ हजार रुपैयाँमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९/८० मा प्रतिक्विन्टल नौ हजार ५०० र हाल प्रतिक्विन्टल आठ हजार १५० मा कारोबार भइरहेको छ ।
कोशी प्रदेशमा ६ हजार ९०९ हेक्टर जमिनमा जुटखेती गरिन्छ। प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी गर्ने गरिएको छ। ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुटखेती गर्ने गरिएको छ ।
नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ। भारत र बांग्लादेशबाट पनि आयात हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।