काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन फेल भएको देखिएको बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताएकी हुन् । उनले हवाई दुर्घनाको विषय छैटौँ पटक संसदमा विषय उठान भएपनि सरकारले अहिलेसम्म सुनुवाई गर्न नसकेको जानकारी दिइन् ।
उनले नेपालको हवाई क्षेत्रमा गम्भिर समस्या देखिएको भन्दै तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन् । नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको भन्दै सरकारले तत्काले उक्त विधेयक ल्याउन जरुरी रहेको बताइन् । सरकारमा पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसदमा आउन नसकेको जानकारी दिइन् ।
उनले यति एयरलाइन्स दुर्घटनाको अडियो सार्वजनिक भएको भन्दै उक्त अडियोबाट प्रष्टसँग लापरबाही भएको सुन्न सकिने बताइन् । नियामक निकायको नियमन फेल भएकै कारण इयुको कालोसूचीमा पर्नु, आइकाओ अडिटमा कम नम्बर दिएको दाबी गरिन् । हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले नगर्दा पनि हवाई यात्रा असुरक्षित बन्दै गएको उल्लेख गरिन् ।
‘नेपालको नियामक निकायको नियमन फेल भएको प्रष्ट देखिएको छ । नेपालको हवाई सुरक्षाको निम्ति प्राविधिक रुपमा गर्नुपर्ने खर्च सरकारले गरिरहेको छैन । नेपालमा अहिलेसम्म भएका हवाई दुर्घटनाले स्पष्ट बताउँछ’, उनले भनिन् ।
उनले नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायमा अहिले छुट्याउने विधेयक संसदबाट पारित गरी नीतिगत रुपमा देखिएका त्रुटिहरुलाई समाधान गर्न सक्नुपर्ने जानकारी दिइन् ।