कोप-३१ मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

काठमाडौं । तुर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।

सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले ४४ अतिकम विकसित राष्ट्रहरूका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । 

सोही अवसरमा उनले सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औं नयाँ सदस्यका रूपमा सामेल गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ विषयमा नीतिगत अवधारणा छलफलका लागि पेस गरे ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले उच्चस्तरीय द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तालाई तीव्रता दिएका थिए । विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान चलाएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी-२० समूहको अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँगको भेटमा अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोप–३१ मा नेपालले उठाएका मुद्दाहरूमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेसँग पाँच प्रभावशाली जलवायु दूतहरूले छलफल गरेका थिए । जसमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए । 

साथै, उनले हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गर्नुका साथै जेनेभास्थित विश्व मौसम-विज्ञान संगठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रमलाई विशेष सम्बोधनसमेत गरे ।

सम्मेलनकै दौरान अर्थमन्त्री वाग्लेले जलवायु र अर्थशास्त्रका ख्यातिप्राप्त विज्ञहरू प्रा. योहान रक्स्त्रम र प्रा. निकलस स्टर्नसँग भेटघाट गर्नुका साथै प्रतिष्ठित सञ्चारमाध्यम न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए । 

सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु मुद्दाका विश्वकै १०० प्रभावशाली व्यक्तिको सम्मानमा आयोजित विशेष कार्यक्रममा समेत अर्थमन्त्री वाग्ले सहभागी भई स्वदेश फर्किएका हुन् ।

Share News