काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले आईतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थालाई ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका साँचो नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गरे।
समारोहमा प्रमुख तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।
उपहारस्वरुप आज हस्तान्तरण गरिएका कूल १०१ सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।
नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
कार्यक्रममा अर्थमन्त्री पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । साथै उनले यस्ता महत्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकैै फाइदाजनक हुने बताए ।
उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशका रुपमा रहेको जानकारी दिए । भौगोलिक रुपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले उल्लेख गरे ।
सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर एक हजार नौ एम्बुलेन्स र तीन सय वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पु¥याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ । रासस