काठमाडौं । विकास बैंकहरूले बैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएपछि विकास बैंकहरू पनि निरन्तर ब्याजदर घटाइरहेका छन् । निरन्तर घटिरहेको ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिएका हुन् ।
विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२४ प्रतिशत घटाएका छन् भने संस्थागततर्फ भने ०.०९ प्रतिशत ब्याजदर घटाएका छन् । बैशाखमा विकास बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ७.०५ प्रतिशत छ भने र संस्थागततर्फको ७.०५ प्रतिशतमा झरेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कुमार खड्का बैंकहरूमा तरलता सहज भएकाले ब्याजदर घटाइएको बताउँछन् । उनका अनुसार अहिले ब्याजदर घटाएर बैंकरहरू रिकभरीमा जोड दिइरहेको उनको भनाइ छ ।
‘विकास बैंकहरूमा प्रयाप्त तरलता छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कम्र्फटेबल छ । कर्जा प्रवाह खासै छैन । कर्जाको माग नै आएको छैन । त्यसैले बैंकहरूले ब्याजदर घटाएर रिकभरीमा फोकस भएका छन्,’ उनले भन् ।
एक्सलडेभलपमेन्ट बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराका अनुसार बैंकमा पैसा थुप्रिएर बसेको र जम्मा भएको पैसा लगानी हुन सकिरहेको छैन । एक्सलको सीडी रेसियो ८०/८१ प्रतिशतमा रहेको उनले बताए । कर्जाको माग पहिलाको तुलनामा कम भएकाले ब्याजदर घटाउनु परेको उनको भनाइ छ ।
‘प्रादेशिक स्तरका विकास बैंकलाई व्यवसाय गर्न गाह्रो छ । प्रादेशिक बैंकलाई राम्रो व्यवसाय नै आउँदैन । राम्रो राम्रो व्यवसाय ठूला बैंकले लिन्छन्,’ उनले भने, ‘अर्थतन्त्र सुस्त रहेकाले व्यापारीहरू पनि गाह्रो अवस्थामा छन् । उद्योगी व्यवसायीहरूले पनि बैंकको ब्याज तिरेर लगानी गर्न सक्ने वातावरण बनेको छैन ।’
घरजग्गा र सेयर बजारमा बहार आएपछि अन्य क्षेत्र पनि चलायमान हुने गरेको उनले सुनाए । उनका अनुसार घरजग्गा र पुँजी बजार अहिले सुस्ताएका कारण उत्साह छाएको छैन ।
ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरि बहादुर खड्का सीडी रेसियो सहज भएकाले निक्षेपको ब्याजदर घटाएको बताउँछन् । अहिले बैंकहरूले ब्याजदर घटाएर रिकभरीमा जोड दिइरहेको उनले बताए । ब्याजदर घट्दा नयाँ ऋणीलाई कर्जा प्रवाह गर्न सहज हुने उनको भनाइ छ ।
‘ब्याजदर घट्दा नयाँ ऋणीलाई कर्जा प्रवाह गर्न सजिलो हुन्छ । र, पुराना ऋणीलाई पनि राहत हुन्छ,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा बैंकको लागत पनि घट्न पुग्छ । लागत घटेपछि आधार दर पनि घट्छ । त्यसपछि कर्जाको ब्याजदर पनि घट्दा ऋणीलाई सहज हुन्छ । नयाँ उद्योग व्यवसाय खुल्न सकछन् ।’
सिन्धु विकास बैंकले व्यक्तिगततर्फ स्थिर राखेर ८.५१ प्रतिशत र संस्थागततर्फ ०.४० प्रतिशत घटेर ६.८१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत घटाएर ८.५ प्रतिशत र संस्थागततर्फ ०.६० प्रतिशत घटेर ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
महालक्ष्मी विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.७० प्रतिशत घटेर ६.७५ प्रतिशत, कामना सेवा विकास बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ८ प्रतिशत र संस्थागततर्फ ०.३ प्रतिशत घटाएर ६.७५ प्रतिशत ब्याजदर तोकेका छन् ।
एक्सल डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ८.२५ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशत घटेर ७.२५ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंकले ०.११ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेका छन् ।
लुम्बिनी विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ स्थिर राखेर ७.५ प्रतिशत, ज्योति विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.७० प्रतिशत घटाएर ६.७५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.८० प्रतिशत घटाएर ६.२५ प्रतिशत ब्याजदर तोकेका छन् ।
गरिमा विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.१० प्रतिशत घटाएर ६.५० प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत घटाएर ८.५ प्रतिशत र संस्थागततर्फ ०.६० प्रतिशत घटेर ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले ०.३० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकले ०.५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेका छन् । विकास बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ ।