काठमाडौं । उमेर थियो, पढे-लेखेकी थिइन् । कहिले सहर त कहिले विकट गाउँमा पुगेर स्वास्थ सेवा दिइन् । पाल्पा, संखुवासभा लगायतका पहाडी जिल्लादेखि काठमाडौं, बुटवल, नेपालगञ्ज सहरका घर-घरमा पुग्थिन् उनी । नागरिकले पाएका स्वास्थ्य समस्या बुझ्थिन् । सकेको उपचार आफैं गर्थिन्, नसकेको समस्या लेखेर सम्बन्धित क्षेत्रमा पुर्याउँछिन् । किनकी उनी एउटा नर्स हुन् । उनी अर्थात् टुका सेन्डुयल क्षेत्री ।
जीवन सधैँ एकनासको कहाँ हुन्छ र !, अहिले जवानी सकियो, बुढ्यौलीले छोयो, निधार खुम्चियो, गाला चाउरिए । न पहिले जस्तो सोच आउँछ, न त जाँगर । तर, पनि नेपालको स्वास्थ्य क्षेत्रमा केही काम गर्ने धोको भने टुकामा उस्तै छ । कर्मभूमी जहाँ भएपनि उनको जन्मभूमी भने नेपाल हो । नेपालको स्वास्थ्य क्षेत्रमा जीवनको महत्वपूर्ण तीन दशक समय व्यतित गरिन् । अहिले पनि उनलाई नेपालको स्वास्थ्य क्षेत्रप्रति उत्तिकै चिन्ता र चासो छ । विदेशी भूमिबाटै अहिले पनि उनी सकेको सहयोग गर्छिन् । बेला बखत नेपाल आएर सेवा गर्छिन् । उनले जुम्लामा बर्थिङ सेन्टर सञ्चालन गरेर सेवा गरिरहेकी छन् ।
उनी अहिले ८० वर्षकाे पुगिन् । परिवार बेलायतमा छ । दुई छोराछोरी बेलायतमै चिकित्सकका रूपमा काम गरिरहेका छन् । अघिल्लो साता उनी आफ्ना दुई जना नातीलाई ल्याएर काठमाडौं आइन् । हजुरआमाले पढेको, काम गरेको ठाउँ हेर्न नातीले इच्छा देखाएपछि उनी नेपाल आइन् । नेपालका विभिन्न ठाउँ घुमाइन्, आफू जन्मेको ठाउँ, पढेको गाउँ र काम गरेको ठाउँ सबै देखाइन् ।
‘उनीहरूलाई पनि म जन्मेको, हुर्के बढेको/पढेको ठाउँ देखाउन आएँ,’ उनी भन्छिन्, ‘मान्छे जुनसुकै ठाउँको होस्, उसले आफ्ना पुर्खाबारे थाहा पाइराख्नुपर्छ, मैले पनि आफ्नो बारेमा जानकारी दिन नातीलाई नेपाल ल्याएर घुमाएँ ।’
टुका जन्मेको ठाउँ लमजुङको दुराडाँडाँ हो । उनको समयमा छोरीहरू मात्र होइन छोरा पनि फाट्टफुट्ट स्कुल जान पाउँथे । छोरीहरू सात/आठ वर्षको हुँदा विवाह हुन्थ्यो । तर, टुकालाई भने विवाह गर्न न परिवारले कर गर्यो, न उनी आफैं तयार भइन् । उनका बुवा धेरै पढे लेखेका थिएनन् । तर, संस्थानी पढ्ने, चिठ्ठी लेख्न, पढ्नसम्म आउँथ्यो । तर, विद्यालय गएर पढ्ने चलन थिएन । छोराछोरी पढ्ने चलन नभए पनि टुकाका बुवाले उनलाई कखरा लेख्न सिकाउँथे । घरमै बोर्ड बनाएर माटो राख्दै सिन्काले उनलाई लेख्न सिकाउँथे ।
उनकी आमालाई लेखपढ गर्न आउँदैन्थ्यो । आफुलाई पैसा समेत चिन्न समस्या पर्दा उनकी आमा तिमीले पढ्नुपर्छ भनेर सल्लाह दिन्थिन् । उनका तीन जना दाजुभाई थिए । बहिनी उनी एक्लै थिइन् । उनको माइला दाई ब्रिटीस आर्मीं थिए । बेला-बेला घरमा चिठी लेखेर पठाउँथे । बा घरमा नहुँदा दाइको चिठी आउँदा पढ्ने मान्छे खोज्नु पर्थ्याे । यो समस्या उनको परिवारले धेरै भोग्नु पर्यो ।
यही समस्याले पनि उनलाई पढाउनुपर्छ भन्ने ध्यान उनका आमाबुवामा भयो । उनको गाउँमा त्यो बेला एकजना कांग्रेसका नेता थिए श्रीकान्त अधिकारी । उनी गाउँमा टाठाबाठा, परेको बेला सहयोग गर्थे । उनले पनि टुकालाई पढाउन बालाई सल्लाह दिन्थे । घरबाटै कखरा सिकेकी उनी गाउँमा विद्यालय खुलेपछि सिधै कक्षा तीनमा भर्ना भइन् । उनै श्रीकान्त अधिकारीले गाउँमै सर्वदा निमावि नामक सञ्चालनमा ल्याए ।
‘बिहान बेलुका घरमा बुवा पढाउँथे, दिउँसो स्कुल जान्थेँ,’ उनी भन्छिन्, ‘त्यो बेलामा ७ मोहोर विद्यालय भर्ना भइन्थ्यो, किताब कापी आफैं किन्नु पर्थ्याे ।’
८ कक्षासम्म उनी गाउँमै पढिन् । त्यसपछि भने बुवाको प्रस्तावमा काठमाडौं पढ्न आइन् ।
पाँच दिन लगाएर काठमाडौं
टुकालाई काठमाडौं पढ्न पठाउने विषयमा घरमा कुराकानी भयो । त्यो बेला अहिले जस्तो यातायातको सुविधा थिएन । चिनजानका मान्छे पनि धेरै थिएनन् । उनी तिनै श्रीकान्त दाइको सल्लाह अनुसार काठमाडौं पढ्न आउन तयार भइन् । उनका बुबा उनलाई पुर्याउन आए ।
पाँच दिन, पाँच रात हिँडेर उनी बुवासँग काठमाडौं आइन् । त्यो बेला काठमाडौंलाई नेपाल भनिन्थ्यो । उनी काठमाडौं पुगेर क्षेत्रपाटीमा रहेको कन्या मिन्दरमा भर्ना भइन् । त्यही स्कुलमा माधवप्रसाद घिमिरेको छोरी कान्ति पनि पढ्थिन् । उनी एउटै जिल्लाको भएर पनि उनलाई कान्ति हुँदा सहज भएको अनुभव भयो ।
टुका लैनचौरमा गाउँकै दुई जना दिदीसँग डेरा लिएर बसिन् । ‘गाउँ छाडेर काठमाडौं आइसकेपछि सबै नयाँ थियो, ‘काठमाडौं आएर बस्न मलाई समस्या भयो,’ उनी भन्छिन् ।
नर्सिङ पढ्ने धोको
उनी एकदिन विद्यालय पढ्न जाँदा बाटोमा स्कुल अफ नर्सिङ देखिन् । स्कुल जाँदा आउँदा जब स्कुल अफ नर्सिङ देख्थिन् उनलाई त्यस विषयमा झन चासो लाग्थ्यो । उनलाई त्यो देखेर मनमा उत्सुकता जाग्यो ।
नर्सिङ पढ्न के गर्नुपर्छ, कति खर्च लाग्छ ? कस्तो विद्यार्थीले पढ्न पाउँछन् ? उनलाई यो विषयमा बुझ्ने इच्छा जाग्यो । ‘रहर नर्सिङ पढ्ने थियोे । तर, पढ्न के गर्नुपर्छ भने थाहा थिएन,’ ‘उनले आफ्नो कथा सुनाउँदै भनिन्, ‘नर्सिङ पढ्ने भन्दा पनि मलाई त्यो युनिफर्मले बढी तान्यो, निलो चिटिक्क मनै लोभ्याउने । तर, जाने सुनेको केही थिइनँ, त्यसैले एकदिन त्यहाँ गएर आफैं कुरा गर्ने योजना बनाएँ,’ उनले विगत स्मरण गर्दै भनिन् ।
सो नर्सिङ स्कुलको गेटमा पाले थिए । उनले पालेसँग कुरा गरिन् । पालेले भित्र खबर गरिदियो । एकछिन् पछि उनलाई भित्र बोलायो । त्यहाँका मान्छेसँग उनले आफ्नो कौतुहलता सोधिन् । उनले नर्स पढ्न कति पढेको हुनुपर्छ योग्यता के के चाहिन्छ भन्ने कुरा सोधिन् । उनीहरूले घर कता हो भन्दै सोधपुछ गरे । उनले लमजुङ भन्ने बित्तिकै आउ भित्र बस भनेर बोलाइ हाले ।
उनलाई अंग्रेजीमा रहेको पत्रिलाई नेपालमा ट्रान्सलेट गर्न भनियो । उनले ट्रान्सलेट गरेर सुनाइन् । तिमी पास भयौ भनेर पछि जानकारी पाइन् ।
‘त्यो बेला पहाडको केटी भनेपछि यो क्षेत्रमा पढ्न मिल्ने अवसर धेरै हुन्थ्यो,’ उनी भन्छिन् । टुकाले यो खबर बुवाको कानमा पु¥याउन चिठ्ठी लेखिन्, बुवाले तिम्रो इच्छा हो जे गर्छौ गर भनेर खबर पठाए । त्यसपछि उनको पढाइ सुरू भयो ।
बुवाको इच्छा बैद्य बनाउने
टुकाका बुवालाई छोरी कविराज (वैद्य) बनाउन मन थियो । उनलाई पढ्न हौसाला दिने श्रीकान्त दाइको भाइ कृष्णकान्त (वैद्य) थिए । उनी गोरखामा काम गर्थे । दशैं, तिहारमा बिदाको बेला घर जाँदा उनको घरमा बिरामीको भीड लाग्थ्यो । कोही औषधी उपचार गर्थे, कोही जाँच गर्न आउँथे । कृष्णकान्तको घरमा मान्छेको भीड लाग्दा टुकाका बुवालाई पनि आफ्नो छोरीलाई यस्तै (वैद्य) बनाउने मन लाग्यो ।
बुवाले भनेको कुरा सम्झदै उनले सुनाइन्, ‘हेर त त्यसले कति राम्रो काम गरेको, यस्तो काम गर्दा मान्छेको सेवा पनि हुन्छ, धर्म पनि हुन्छ, पैसा पनि कमाइन्छ, तिमी पनि अब यस्तै बन्नुपर्छ बुवाले मलाई भन्नुहुन्थ्यो ।’
टुकालाई कविराज बनाउने सपना देखिरहेको बुवाको हातमा छोरीले नर्सिङ पढ्न सुरु गरेको पत्र पुग्यो । उनका बुवाले तिमी जे गर्छौ राम्रो गर म सहमत छु भनेर चिठ्ठी पठाए । टुकाले नर्सिङ पढ्ने अवसर पाएपछि कन्या मन्दिरको पढाइ छोड्नि । उनी नर्सिङ पढ्दा नेपालमा नर्सिङ नेपाल सञ्चालनमा आएको ४ वर्ष भएको थियो ।
उनले नर्सिङ पढेर सकेपछि प्रसूति गृह क्षेत्रमा रहेर कम्युनिटी नर्सको रूपमा काम गन गरिन् । कम्युनिटी नर्स भनेको घर–घरमा गएर जाँच गर्ने, केही समस्या पर्दा उपचार गर्ने काम गर्नुपथ्र्यो । उनले काम गर्ने क्षेत्र कुपण्डोल थियो । त्यहाँ एक वर्ष काम गरिसकेपछि सरकारी जागिर खाइन् । सरकारी जागिरे भइसकेपछि उनी फेरि पढ्न लेबनान गइन् ।
त्यहाँ उनले फेरि १ वर्षे कम्युनिटी नर्सिङ कोर्स गरिन् । त्यो बेला पढ्छु भनेपछि सरकारले नै जान छात्रवृत्ति दिएर पठाउँथ्यो । एक वर्ष कोर्स गरेर फर्किएपछि उनको प्रमोसन भयो । उनी बुटवलको एउटा हेल्थ पोष्टमा गएर काम गर्न थालिन् । उनले बुटवलमा काम गर्दै पञ्जाव युर्निभसिर्टीमा बिएसी नर्सिङ गरिन् । उनले त्यसपछि संखुवासभा, पाल्पा, नेपालगञ्ज गएर स्वास्थ्य क्षेत्रमा काम गरिन् । यसरी जीवनको आधा उमेर नेपालको स्वास्थ्य क्षेत्रमा बिताएकी उनले विवाहपछि भने बेलायतमा गएर काम गरिन् ।
बिदेशीसँग विवाह
उनी बुटवलमा काम गर्दै जाँदा एक जना ब्रिटिस युवासँग भेट भयो । उनको नाम थियो जोन सेन्डुयल । उनी इन्जिनियर थिए । उनीसँग चिनजान भयो । किनकी उनी काम गर्ने अस्पतालको डाक्टर पनि त्यो बेला ब्रिटिस नै थिए । जोन उनका साथी थिए ।
जोनसँग भेट भएको १० वर्षपछि सन् १९७९ मा उनको विवाह भयो । त्यसपछि उनी नेपालको सरकारी जागिर छोडेर बेलायत गइन् । नेपालमा स्टाफ नर्सदेखि कम्युनिटी नर्समा १५/२० वर्ष काम गरिन् । विवाह गरेर बेलायत जाँदा पनि उनले त्यहाँ आफ्नो कामलाई निरन्तरता दिइन् । सुरुमा त्यहाँ काम गर्न युकेसीसीको नर्सिङ एशोसियसनमा रजिष्टर हुनुपथ्र्यो ।
उनले रिजस्टेशनको लागि निवदेन दिइन् । त्यसको केही समेयपछि चिठ्ठी आयो । अब तालिम लिनु पर्ने भयो । त्यसपछि उनी स्कुल अफ नर्सिङमा गइन् । उनले आफ्नो सर्टिफिकेट देखाइन् । सर्टिफिकेट देख्ने बित्तिकै तिमी रामो नर्स हौ, काम गर्न सक्छौँ भनेपछि त्यहाँको नर्सिङ एशोसियसनमा उनको नाम दर्ता भयो । उनी बेलायतमा पहिलो दर्ता हुने नेपाली नर्स थिइन् । त्यसपछि उनले उतै काम सुरु गरिन् ।
संखुवासभाको त्यो कहानी
सन् १९८० मा टुका स्वास्थ्य मन्त्रालयबाट ट्रेनिङको लागि संखुवासभा गइन् । उनीसँग चार/पाँच जनाको समूह थियो । त्यो जिल्लाका हेल्थ क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई बोलाएर तालिम दिने कार्यक्रम थियो । तालिम सकिनु एक दिन अगाडि एउटा पुरुषले श्रीमतीलाई डोकोमा बोकेर ल्याएको दृश्य देखिन् । उनी ७ महिनाको गर्भवती महिला थिइन् ।
श्रीमानले तीन दिन श्रीमतीको पिसाब रोकिएको भन्दै उपचारको लागि खादवारी ल्याएका थिए । उनको उपचार गर्न सक्ने नेपाली नर्स गाउँमा थिएनन् । सामान्य जाँचसमेत गर्न सक्ने थिए । तर, उनले छुन चाहेन । किनकी उनी सक्दैन थिइन् । त्यसपछि टुका गइन् । उनले आफूसँग भएको सामानले महिलाको उपचार गरिन् । डोको बोकेर ल्याएकी महिला त्यसपछि हिँडेर गइन् । उनलाई खुसी सँगै दुःख पनि लाग्यो । त्यो घटनाले उनको मन अहिले पनि दुःखी हुन्छ । त्यसपछि उनलाई सेवा भनेको यस्तो ठाउँमा गर्नुपर्छ भन्ने लाग्यो ।
विदेशी कर्मभूमी
टुका विदेश गएर उतै काममा व्यस्त भइन् । बेलाबखत उनलाई नेपालको याद आउँथ्यो । नेपालका गाउँ-गाउँमा गएर काम गरेको याद आउँथ्यो । तर, कर्मभूमी उनको विदेश नै थियो । त्यसपछि उनी एनआरएनएमा आवद्ध भइन् । त्यहाँको कमिटीमा बस्दा एनआरएनएले नेपालका विभिन्न ठाउँमा कार्यक्रम गर्ने गरेको थाहा पाइन् । उनले नेपालमा स्वास्थ्य क्षेत्रमा प्रोजेक्ट लिएर काम गर्ने योजना बनाइन् । यो विषयमा सबैले सहमति पनि जनाए ।
तर, त्यो बेला कांग्रेस नेतृ सुजता कोइराला पनि त्यहाँ गएकी थिइन् । पहिले टुकाको योजनामा जान तयार फण्डिङपछि सुजताको भागमा प¥यो । जहाँ अफ्ठ्यारो छ, त्यहाँ काम गर्ने भन्दा पनि पहुँच र सम्पर्कका आधारमा काम हुँदो रहेछ उनले त्यो बेलाको तितो अनुभव सुनाइन् । दोस्रो पटक उनले आफ्नो योजना फेरि प्रस्ताव गरिन् । त्यसपछि त्यो योजना स्वीकृत भयो । उनले श्रीमानसँग पनि यो कुरा राखिन् । उनी पनि सेवाबाट रिटायर्ड हुनेबेला थियो ।
उनले त्यो पैसा निकालेर एनआरएनएले दिएको प्रोजेक्टमा राखिन् र जुम्लामा उनले बर्थिङ सेन्टर खोलिन् । युकेमा रहेका नेपानी नर्सहरूले नेपालको स्वास्थ्यमा काम गर्ने कुरा गरे । त्यसपछि टुकाले फेरि साथीहरूसँग मिलेर जुम्लाको बोडेगाउँमा अर्को बर्थिङ सेन्टर खोलिन् । अहिले ती दुवै बर्थिङ सेन्टरबाट सेवा जारी छ । यो साता काठमाडौंमा भेटिएकी टुकालाई यतिमै खुसी त छैन । तर, केही सन्तुष्टी भने अवश्य नै छ ।
‘नेपालको स्वास्थ्य क्षेत्रमा सके जती सहयोग गरेँ, उनी भन्छिन्, ‘अब त उमेर पनि ढल्क्यो, कति बाँचिएला जन्मभूमीका लागि सके जति देशमै रहेर वा बाहिरै बसेर सेवा गरेँ, अब अस्ताउन लागेको सूर्यजस्तै आफैं छु, के गर्न सकिएला र ?’