औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ, प्रसारण लाइन नबने अझै बढ्नसक्ने

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पिक आवरमा अनौपचारिक रुपमा विद्युत आपूर्ति बन्द गर्ने गरेको छ । उद्योगीहरुका अनुसार पछिल्लो समयमा औद्योगिक क्षेत्रमा १२ घण्टासम्म पनि विद्युत आपूर्ति हुँदैन । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार उनको उद्योग भएको जनकपुर औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । लोडसेडिङका कारण धेरै उद्योगीहरु [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा पिक आवरमा अनौपचारिक रुपमा विद्युत आपूर्ति बन्द गर्ने गरेको छ । उद्योगीहरुका अनुसार पछिल्लो समयमा औद्योगिक क्षेत्रमा १२ घण्टासम्म पनि विद्युत आपूर्ति हुँदैन ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार उनको उद्योग भएको जनकपुर औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । लोडसेडिङका कारण धेरै उद्योगीहरु उद्योग नै बन्द गर्ने अवस्थामा पुगिसकेको उनले बताएका छन् ।

‘१२ घण्टासम्म लोडसेडिङ भयो, हामी त उद्योग नै बन्द गर्ने अवस्थामा पुगिसक्यौं’, अध्यक्ष थापाले विकासन्युजसँग भने, ‘सबै औद्योगिक क्षेत्रमा लोडसेडिङ भएको छ, समय फरक-फरक होला, जनकपुरमा साँझ ६ बजेबाट बिहान ६ बजेसम्म बिजुली आउँदैन, यसरी उद्योग चल्छ ?’ उनले आफूले नेपाल विद्युत प्राधिकरणमा लोडसेडिङको कारणबारे पत्र लेखेर पठाएको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने पिक आवरमा बढी विद्युत मागका कारण औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा समस्या हुने गरेको बताएका छन् । तर, प्राधिकरणले तालिका बनाएर नै लोडसेडिङ नगरेको उनले बताएका छन् ।

अहिले नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेका आयोजनाहरुले अधिकतम ३१० मेगावाट र निजी क्षेत्रका आयोजनाहरुले अधिकतम ७६३ मेगावाट मात्रै विद्युत उत्पादन गर्दै आएका छन् । साथै प्राधिकरणले भारतसँग गरेको सम्झौताअनुसार ५ सय ५४ मेगावाट पनि विद्युत आयात गर्दै आएको छ ।

देशको आन्तरिक उत्पादन र भारतबाट आपूर्ति गर्दा पनि उद्योहरुमा भने चौविसै घण्टा समानरुपमा विद्युत आपूर्ति हुन सकिरहेको छैन । प्राधिकरणका प्रवक्ता घोषकाअनुसार निजी क्षेत्रका प्रवद्र्धकहरुले फागुन महिनासम्ममा ७६३ मेगावाट विद्युत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर, निजी क्षेत्रका आयोजनाहरुबाट अहिले प्रतिबद्धता भन्दा २ सय ६३ मेगावाट कम विद्युत आपूर्ति भइरहेको छ ।

साथै आवश्यक पूर्वाधार पनि नभएकोले मागअनुसार थप विद्युत भारतबाट आपूर्ति हुन नसक्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ । त्यसैले आगामी दिनमा खडेरीको समय थप वृद्धि हुने र भौतिक पूर्वाधारको क्षेत्रमा काम हुन नसकेमा औपचारिकरुपमा नै लोडसेडिङको अवस्थामा प्राधिकरण प्रवेश गर्नसक्ने देखिएको छ ।

‘पूर्वाधार बनाउन नसकेमा थप विद्युत आपूर्ति गर्नसक्ने अवस्था छैन, ढल्केबरदेखि इनरुवासम्मको तारको काम १२ दिनमा सकिन सक्छ, तर अवरोधका कारण हुन सकिरहेको छैन’, प्रवक्ता घोषले भने, ‘१५६ किलोमिटर मध्ये २१ किलोमिटरको काम मात्रै बाँकी छ, नयाँ बुटवलदेखि बर्दघाटसम्मको जम्मा ५७ वटा टावरको काम गर्न सकिएको छैन ।’

उद्योगहरुमा मागको स्थिरता नहुँदा पनि सप्लाईमा समस्या

उद्योगमा हुने अनियन्त्रित मागका कारण पनि सप्लाईमा समस्या भएको प्रवक्ता घोषले बताएका छन् । उनले कुनै दिनमा उद्योगहरुले अधिक खपत गर्ने र कुनै दिनमा न्यून खपत गर्नाले पनि सप्लाइको विषयमा एकिन गर्न नसकिने अवस्था रहेको उनले बताए ।

प्रवक्ता घोषले अब उद्योगहरुमा भोलिपल्टको आपूर्तिको विषयमा जानकारी गराउने प्रणालीको विकास गर्न लागेको बताएका छन् । आपूर्ति गरिएको विद्युत नलिएमा प्राधिकरणलाई घाटा हुने अवस्था अहिले भएको घोषको भनाइ छ । त्यसको लागि पहिला उद्योगहरुको आवश्यकता कति हो भन्ने विषयमा पनि काम गर्न लागिएको उनले बताए ।

‘हामीले उद्योगहरुको रिक्वायरमेन्टको अवस्थामा अघिल्लो दिन जानकारी गराउने विषयमा जानकारी गराउने तयारी गरेका छौं, त्यो गर्नुपर्ने अवस्था अब देखिएको छ, किनभने ल्याएको विद्युत उहाँहरुले लिनुपर्यो’, घोषले भने । उनले उद्योगीहरुको माग स्थीर भएमा आपूर्ति गर्न पनि सजिलो हुने बताएका छन् ।

तर, उनले अहिलेको विद्युतको महसुल दर कायमै राखेर भने थप सेवा गर्न नसकिने अवस्थामा रहेको बताएका छन् । उनले विद्युतको मौसमी दररेट कायम गर्न आवश्यक भएको बताए ।

‘अहिलेको जुन महसुल छ, यो महसुलबाट यो भन्दा राम्रो व्यवस्था गर्न सकिँदैन, राज्यले पनि महँगोमा किनेर सस्तोमा बेच्न सक्दैन होला, मैले बढाउन नै पर्छ भन्न खोजेको पनि होइन तर, सिजनल महसुल हुनुपर्छ जस्तो लागेको छ’, घोषले भने ।

उनका अनुसार अहिले भारतबाट प्राधिकरणले विद्युत खरिद गर्दा १६ रुपैयाँ भन्दा धेरैमा प्रतियुनिट बिजुली खरिद गर्ने गर्छ भने बिक्री गर्दा भने ६ रुपैयाँ भएकोले घाटाको व्यापार भइरहेको छ ।

विद्युत उत्पादक संघका अध्यक्ष ध्रुव थापाले प्राधिकरणले घाटामा व्यवसाय गर्न आवश्यक नभएको तर, वैज्ञानिक ढंगले मूल्य निर्धारण गर्ने विषयमा आफूहरुको कुनै असमति नभएको बताए । ‘के-के गर्ने गर्न पर्यो नी त, विद्युत प्राधिकरण नाफामूलक संस्था हो ? घाटा पर्छ भने बढाउनुपर्यो, नाफा भएको बेलामा घटाउनुपर्यो, यस्तो विषयमा नाटक गरेर हुन्छ प्राधिकरणले’, अध्यक्ष थापाले भने ।

आगामी एक महिनाभित्र रसुवागढी, तमोर, सान्जेन लगायतका नयाँ आयोजनाहरुबाट विद्युत उत्पादनको शुरुवात हुने अवस्थामा रहेको भएपनि प्रशारण लाइन नबनेदेखि सप्लाइ गर्न सकिने अवस्था नरहेको प्राधिकरणका प्रवक्ता घोषले बताएका छन् ।

‘उत्पादन थपिएपनि हाम्रो प्रशारणलाईनले धान्दैन’, अहिले नै हाम्रो प्रणाली उच्च चापमा छ, थप धान्न सक्ने अवस्था नै छैन’, घोषले भने ।

Share News