काठमाडौं । घरायसी विवादका क्रममा श्रीमानले श्रीमती र दुई सन्तानमाथि बन्चरो प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ ।
प्रहरी चौकी हाँडाकोटका अनुसार शुक्रबार बिहान करिब ९ः ३५ बजे चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले सामान्य घरायसी विवादमा आफ्नै परिवारका सदस्यमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेका हुन् ।
श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई एम्बुलेन्समार्फत उपचारका लागि नगर अस्पताल दुल्लु लगिएको थियो। अस्पताल पुर्याइएपछि चिकित्सकले जाँच गर्ने क्रममा १२ वर्षीय छोरा तपेन्द्र र ३ वर्षीया छोरी करिस्मालाई बिहान ११ः १० बजे मृत घोषणा गरेका थिए।
३५ वर्षीया श्रीमती मनिषा सलामीको पनि मृत्यु भएको छ । उनलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको हो ।
६ वर्षीय मिलन सलामीलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको प्रहरीले जनाएको छ ।